ओलीको दाबीः मेरा कदम लोकतन्त्रका पक्षमा छन

KP sharma Oli-22
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरुको जवाफदेहिता लिन तयार रहेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरुको जवाफ लिन तयार रहेको बताएका हुन्।

आफूले संविधानसम्मत् तथा कानूनसम्मत् काम गरेकोले जवाफदेहिता लिने उनको भनाई छ। आफूले गरेको काम लोकतन्त्र, गणतन्त्र तथा राष्ट्रको सार्वभौमसत्ताको पक्षमा रहेको उनको दाबी छ। प्रधानमन्त्री ओलीले प्रचण्ड-माधव नेपाल समूह सर्बोच्च अदालत र निर्वाचत आयोगको हुर्मत लिने काममा लागेको आरोप पनि लगाए। उनले न्यायाधीशलाई प्रधानमन्त्रीले भेटेको अफवाह फैलाएर स्वतन्त्र न्यायपालिकामाथि प्रचण्ड समूहले आक्रमण गरेको बताए।

ओलीले निर्वाचन आयोगमा सूर्य चिन्ह चाहियो भन्दै गएको अनाधिकृत समूहले चुनावी कार्यक्रम अघि नबढाउन धम्की दिएर अलोकतान्त्रिक काम गरेको बताए। प्रतिनिसभा विघटन भइसकेको अवस्थामा निर्वाचन आयोगलाई निर्वाचन प्रक्रियाबाट रोक्न खोज्नु देशलाई अलोकतान्त्रिक बाटोमा लैजान खोजेको बताए।

ओलीले राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाइएकोमा समेत आपत्ति जनाए। प्रधानमन्त्रीले गरेको सिफारिसमा तोक लगाउनु राष्ट्रपतिका संवैधानिक कर्तव्य हो भन्दै त्यसमा कुनै त्रुटी भए आफूले जवाफ दिने बताए। ओलीले भने, ‘प्रश्न छ भने मलाई गरे हुन्छ, म हरेक प्रश्नको जवाफ दिन र जवाफदेहीता लिन तयार छु।’