काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले नभएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चाहेर मात्र केपी ओलीलाई प्रधानमन्त्री बनाएको बताएका छन्।
राष्ट्रिय युवा संघ नेपालको दोस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीले चाहेर मात्रै केपी ओलीलाई प्रधानमन्त्री बनाएको र जनताले चाहेर नभएको बताएका हुन्। उनले युवाहरुको काँधमा भोलीको नेपालको नेतृत्व गर्ने जिम्मेवारी आएको बताउँदै देश- दुनियाँले देख्नेगरी आन्दोलनलाई सशक्त बनाउन समेत आग्रह गरे।
विगतका आन्दोलनमा पनि युवाहरुको सशक्त भूमिका रहेको भन्दै अध्यक्ष प्रचण्डले संसद विघटनविरुद्ध आन्दोलनलाई सफल पार्न युवाहरुलाई जोश जाँगर लगाएर संघर्षमा उत्रिन पनि आह्वान गरे। लामो संघर्ष र बलिदान पछि पाएको संविधानमाथि प्रहार भएको भन्दै सिंगो देश नै स्तब्ध भएको जिकिर गरे। जनाताको भाषा बोलिएको संविधानको मूल मर्ममाथि प्रहार भएको छ। हाम्रा सहिद ,वीर योद्धाहरुको उपलब्धिमाथि प्रहार भएको छ। यसकारण हामी चिन्तित छौं। हामी हसिमजाक गर्ने वातावरणमा छैनौं। हामी गम्भीर मुडमा छौं।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको बाटोमा आफू कुनै हालतमा हिंड्न नसक्ने बताए। हामी तपाईँको बाटोमा हिँड्न सक्दैनौं तपाईले रोजेको पतनको बाटो हो। त्यो बाटो हामीलाई स्वीकार्य छैन। तपाईसँग हाम्रो व्यक्तिगत केही रिसिबी छैन। त्यो बाटोलाई घृणा गरेका हौं। गलत प्रवृत्तिका विरुद्ध संघर्ष गर्नु परेको हो।



लोकपाटी न्यूज

