कोरोना महामारी बीच कसरी बढ्यो रेमिट्यान्स ?

लोकपाटी न्यूज

काठमाडौं। नेपाल राष्ट्र ब्याङ्कले आर्थिक वर्ष २०७७/७८ को पहिलो पाँच महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.९ प्रतिशतले विप्रेषण आप्रवाह वृद्धि भएको प्रतिवेदन बुधवार सार्वजिनक गरेको थियो। उक्त प्रतिवेदनका अनुसार पाँच महिनामा नेपालमा प्राप्त रेमिट्यान्स ४१६ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ।

कोरोनाभाइरसको महामारी देखा परेयता झन्डै एक लाख ९७ हजार नेपाली कामदार विभिन्न देशबाट फर्किएको वा उनीहरूको उद्धार गरिएको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता गुणाकर भट्ट कोभिड-१९ को महामारीसँगै लगाइएको लकडाउन सहितका सन्दर्भलाई जोडेर रेमिट्यान्स अर्थात् विप्रेषण वृद्धिलाई हेरिनुपर्ने बताउँछन्। उनले भने, “कोभिड -१९ को महामारीपछि सीमामार्फत् हुने आवतजावतलाई व्यवस्थित बनाउने काम भयो र उडानहरू पनि भएनन्।’

‘त्यसले गर्दा अनौपचारिक किसिमका व्यापार र कारोबार निरुत्साहित भएको देखिन्छ। विगतमा अनौपचारिक व्यापारमा रेमिट्यान्स प्रयोग भएको कुरा आउँथ्यो। त्यो अहिले औपचारिक प्रणालीबाट आएको र त्यसले रेमिट्यान्सलाई बढाउन भूमिका खेलेको देखिएको छ।”

त्यसअघि सुन खरिद, हुन्डीबाट हुने कारोबार लगायतमा रेमिट्यान्स प्रयोग गर्ने गरिएका विवरण आउने गरेका थिए। प्रवक्ता भट्टका अनुसार मानिसहरूले विदेशबाट फर्किँदा ल्यापटप, फोनजस्ता सामान पनि रेमिट्यान्स भित्र्याउने गरेको भए पनि उडानहरू अवरुद्ध भएपछि रकम नै पठाउने क्रम बढ्यो। उनले थपे, “हाम्रा श्रमिकहरूले काम गर्ने गन्तव्य देशहरूमा कोभिड(१९ महामारीपछि अर्थतन्त्र प्रभावित भएको छ। तर उत्पादनका क्षेत्रहरूमा कामहरू अघि बढि नै रहेको छ। त्यो हुँदा उत्पादनका क्षेत्रमा काम गर्नुपर्ने कामदारहरूले जागिर गुमाउनुपरेन। त्यही भएर ठूलो परिमाणमा मानिसहरू घर फर्किन्छन् र हाम्रो रेमिट्यान्स घट्छ भन्ने जुन हाम्रो आशङ्का थियो त्यो भएन।”

अहिले भारतबाहेक अन्य देशमा ३२ लाख नेपाली श्रमिकहरू रहेको अधिकारीहरूको अनुमान छ। कोरोनाभाइरसको महामारीका कारण प्रवासमा रहेका झन्डै २० प्रतिशत नेपालीले रोजगारी गुमाउन सक्ने आकलन एउटा अध्ययनले गरेको थियो। अक्टोबर महिनामा विश्व ब्याङ्कले सार्वजनिक गरेको एउटा प्रतिवेदनले सन् २०२१ मा विप्रेषण प्रवाह कोरोनाभाइरसको महामारीभन्दा अघिको समयको तुलनामा १४ प्रतिशतले घट्न सक्ने प्रक्षेपण गरेको थियो।

त्यसमा सन् २०२० मा दक्षिण एशियामा आउने विप्रेषण लगभग चार प्रतिशतले घट्ने उल्लेख गरिएको थियो। अनुसन्धानकर्ता खरेल नेपाली श्रमिक रहेका देशमा कोभिड-१९ ले आगामी दिनमा पार्न सक्ने प्रभावले भावी दिनमा हुने रेमिट्यान्स प्रवाहलाई निर्धारण गर्ने ठान्छन्। उनका अनुसार नयाँ खालको भाइरस आएर लकडाउन गर्नुपर्ने अवस्था आएको खण्डमा विप्रेषणमा नकारात्मक असर पर्न सक्छ।

तर पछिल्लो समयमा कोरोनाभाइरसको खोप उपलब्ध भइसकेको र ठूलो सङ्ख्यामा नेपाली कामदार रहेका खाडी देशहरूको आर्थिक सामर्थ्य बलियो रहेकाले उनीहरूले खोप अभियानलाई प्राथामिकता दिएर सञ्चालन गर्न सक्ने उनी ठान्छन्। नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता भट्ट चाहिँ अन्तर्राष्ट्रिय निकायहरूले नै कोरोनाभाइरसका कारण सुस्ताएको अर्थतन्त्र पुनस् तङ्ग्रिन थालेको विश्लेषण गरिरहेकाले तत्काल नकारात्मक असर नपर्ने विश्लेषण गर्छन्।

उनले भने, “पछिल्लो समयमा विश्व व्याङ्कले पनि संसारको अर्थतन्त्र चार प्रतिशतले विस्तार हुन्छ भन्ने अनुमान गरेको छ। कतारमाथि लागेको नाकाबन्दी फिर्ता भएको छ र त्यहाँ विश्वकप फुटबल हुन गइरहेको छ। यसले गर्दा त्यहाँ अर्थतन्त्र विस्तार हुन्छ र कामदारको माग बढ्छ भन्ने हामीले ठानेका छौँ।” ज्यानुअरी महिनाको आफ्नो आर्थिक प्रक्षेपणमा विश्व व्याङ्कले कोभिड-१९ विरूद्धका खोप प्रयोगमा ल्याइएसँगै सन् २०२१ मा अर्थतन्त्र चार प्रतिशतले विस्तार हुने उल्लेख गरेको थियो।

तर महामारीलाई नियन्त्रण गर्न र लगानी वृद्धि गर्न सुधारका कदमहरू नीति निर्माताहरूले चाल्न नसके उक्त लक्ष्य पूरा नहुने उसले चेतावनी दिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्