सुवास नेम्वाङलाई प्रदीपको प्रश्नः आफैले बोलेको कुराले गिज्याएन र कमरेड ?’

लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली समूहले गरिरहेको टिप्पणीमाथि कटाक्ष गरेका छन्।

पौडेलले संविधानको अन्तिम व्याख्या गर्ने ओली ग्याङले हो कि सर्वोच्च अदालतले ? भनेर प्रश्न गरेका छन्। त्यस्तै ओली समूहका नेता सुवास नेम्वाङलाई दुई जिब्रो भएको व्यक्तिको संज्ञा दिँदै भनेका छन्, ‘दुई जिब्रो, पहिला नम्र बोली, अहिले ओली-ओली।’

पौडेलले संविधानसभाका अध्यक्ष भएका व्यक्तिलाई संविधानले दिएको अधिकार कति हो भन्ने सामान्य ज्ञान पनि हुँदैन ? भन्दै सामाजिक सञ्जालमार्फत नेम्वाङलाई प्रश्न पनि गरेका छन्। उनले भनेका छन्, ‘संविधानसभामा अध्यक्ष भएका व्यक्तिलाई संविधानले दिएको अधिकार कति हो ? भन्ने सामान्य ज्ञान पनि हुँदैन ?’

एक वर्ष अगाडि नेम्वाङले एक कार्यक्रममा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको भिडियो सार्वजनिक भएको थियो। सोही भिडियोलाई लिएर पौडेलले नेम्वाङलाई प्रश्न गरेका छन्, ‘एक वर्ष अगाडि आफैले बोलेको कुराले गिज्याएन र कमरेड ?’