धरान। जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले प्रधानमन्त्रीले आफ्नो नाम अनुसार नै संसदमाथि खड्ग प्रहार गरेर संविधानलाई नै सिध्याउन खोजेको आरोप लगाएका छन्। शनिवार धरानमा आयोजित विरोधसभामा नेता राईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस्तो आरोप लगाएका हुन्।
उनले प्रधानमन्त्रीको पुरा नाम खड्ग प्रसाद शर्मा ओली भएको उल्लेख गर्दै संसदमाथि खड्ग अर्थात् तरबार प्रहार गरेको बताए। ‘खड्ग भनेको तरबार हो, त्यसको काम काट्ने हुन्छ,’ नेता राईले भने ,‘यसपालि आफ्नो नाम अनुसारकै संसद् सिध्याउने काम गर्नुभयो। संसदमाथि खड्ग प्रहार गरियो।’
उनले शिक्षाको अवस्था, स्वास्थ्यको अवस्था अस्तव्यस्त भए पनि प्रधानमन्त्री ओली एक्लै चुनावी भाषण गर्दै हिँडिरहेको बताए। ‘लोकतन्त्रमाथि धावा बोलेर, संविधान मिचेर अहिले फेरि दुई तिहाइ भोट चाहियो रे,’ उनले भने, ‘के को लागि फेरि चाहियो दुई तिहाइ ? ओम्नी काण्डको लागि ? प्रिन्टिङ प्रेसमा ७० करोड कमिसनको लागि ?’



लोकपाटी न्यूज

