काठमाडौं। पूर्व प्रधानन्यायाधीश सुशीला कार्की देशको पछिल्लो घटनाक्रम देखेर निकै चिन्तित भएको बताउछिन्। को नेता प्रधानमन्त्री छ ? कसको अनुकुल वा प्रतिकुल सरकार छ भन्ने भन्दापनी हजारौंको रगत र पसिना संग साटिएको संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्न लागेकोतर्फ उनको चिन्ता छ।
पछिल्लो घटनाक्रमतर्फ संकेत गर्दै कार्की भन्छिन्, ‘मुलुकको अवस्था लुँडो खेलसँग मिल्दोजुल्दो छ। लुँडोमा मिहिनेत गर्यो, गर्यो अन्तिममा सर्पको मुखमा पुगेपछि सीधै पुछारमा पुग्ने हुन्छ। त्यस्तै, हाम्रो देशमा पनि ०१५–०१७ सालदेखि निरन्तर उस्तै किसिमको घटना हुँदै आएको छ। म त फेसबुक र युट्युबमा हेर्न पनि सक्दिनँ। त्यो के बोल्या होला ? हास्यव्यंग्यजस्तो बोल्या छ। त्यत्रो ओहोदामा बसेका मान्छे जे पायो त्यही बोलेको छ,’ कार्कीले भनिन्, ‘राज्य चलाउनु व्यापारीको एउटा समूह चलाउनुजस्तो त होइन नि ! अरू जे भए पनि एउटा अनुशासन त मान्नुपर्छ नि।’
कार्कीले प्रधानमन्त्रीले संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संविधानको चिरहरण गरेको बताइन्। उनले आफूहरुले संविधानको रक्षाका निम्ति आवाज उठाएको पनि स्पष्ट पारेकी छिन्।



लोकपाटी न्यूज

