ह्वाट्सएपमा नयाँ सुरक्षा चुनौती : बिकल्पमा यी पाँच एप प्रयोग गर्नुस्

Mobile whatsapp
लोकपाटी न्यूज

काठमाडौं। ह्वाट्सएप विश्वमै सर्वाधिक प्रयोग गर्ने म्यासेजिङ एप हो। यसको म्यासेजिङ, कलिङ फिचरमा मानिसहरु यति धेरै निर्भर छन् कि यो जीवनको महत्वपूर्ण पाटो जस्तै बनिसकेको छ।

तर अब ह्वाट्सएप प्रयोगकर्ताहरुको अनलाइन क्रियाकलापमा एउटा परिवर्तन आउँदैछ, जुन गोपनीयतासँग जोडिएको छ। किनभने ह्वाट्सएपले आफ्नो गोपनीयता नीति तथा शर्तमा केही कुरा परिवर्तन गर्दैछ। युरोपभन्दा बाहिर हरेक मुलुकका नागरिक अर्थात् हामी नेपालीहरुमाथि पनि यो नीति लागू हुनेछ।

साथै यदि तपाईं आगामी दिनमा पनि ह्वाट्सएपको साथ चाहनुहुन्छ भने यो नीति र शर्त तपाईले स्वीकार्नैपर्छ। स्वीकारोक्ति दिनुभयो भने गोपनीयतामा आँच आउनेछ, दिनुभएन भने अकाउन्ट नै चल्ने छैन। तपाईं आईओएस वा एन्ड्रोइडको प्रयोगकर्ता हुनुहुन्छ भने ह्वाट्सएपले आफ्नो गोपनीयता नीति र शर्तमा ल्याएको परिवर्तन मोबाइलमा नोटिफिकेसनको माध्यमबाट दिइरहेको छ।

उक्त नोटिफिकेसनमा ८ फेब्रुअरी २०२१ सम्म त्यसलाई मन्जुरी दिन अनिवार्य रहेको स्पष्ट उल्लेख छ। यदि तपाईंले त्यसलाई स्वीकार गर्नुभएन भने तपाईंको अकाउन्ट बन्द हुनेछ। यसको अर्थ ८ फेब्रुअरीपछि तपाईंको अकाउन्ट जे पनि हुनसक्छ। ह्वाट्सएपले यो काम हामीबाट जबरजस्ती गराइरहेको छ।

नयाँ नीतिमा के छ ?

सामान्यतः कुनै पनि नीतिमा प्रयोगकर्ता सहमत हुने नहुने दुवै विकल्पहरु राखिएका हुन्छन्। तर यसपटक यस्तो छैन। यी दिनसम्म आइपुग्दा ह्वाट्सएपले प्रयोगकर्ताको गोपनीयता र सुरक्षाको सम्मान गर्ने बताउँदै आएको थियो। तर ४ जनवरीमा अद्यावधिक गरिएको नयाँ नीतिमा गोपनीयता र सुरक्षाप्रति ह्वाट्सएपको जोड शब्द नै हराएर गएको छ। त्यसमाथि ह्वाट्सएपले फेसबुक ब्राण्डका अन्य कम्पनीसँग प्रयोगकर्ताको डेटा साझा गर्ने कुरा खुल्ला रुपमा बताएको छ।

नयाँ गोपनीयता नीति अनुसार ह्वाट्सएपले प्रयोगकर्ताको इन्टरनेट प्रोटोकल एड्रेस अर्थात् आईपी एड्रेस फेसबुक, इन्स्टाग्राम वा अन्य कुनै तेस्रो पार्टीलाई दिन सक्नेछ। ह्वाट्सएपले अब तपाईंको डिभाइसको सिग्नल स्ट्रेन्थ, ब्याट्री लेभल, एप भर्सन, ब्राउजरको जानकारी, एप भर्सन, भाषा, टाइम जोन, फोन नम्बर, मोबाइल वा इन्टरनेट सेवा प्रदायक सम्बन्धि जानकारी पनि संकलन गर्नसक्दछ।

पुरानो गोपनीयता नीतिमा यस्तो कुनै व्यवस्था थिएन।

यदि तपाईं आफ्नो मोबाइलबाट ह्वाट्सएप मात्र डिलिट गर्नुहुन्छ र माइ अकाउन्ट सेन्सरमा गएर इन एपको अप्सन चयन गर्नुभएन भने तपाईंको सबै डेटा ह्वाट्सएपसँग रहन्छ। ह्वाट्सएपको एप डिलिट गर्दा मात्र तपाईं सुरक्षित हुन सक्नुहुँदैन।

नयाँ नीतिमा ह्वाट्सएपले स्पष्टरुपमा भनेको छ कि उसको मुख्यालय र डेटा सेन्टर अमेरिकामा भएको हुँदा आवश्यक परेको खण्डमा प्रयोगकर्ताको निजी जानकारीलाई उसले त्यहाँ स्थानन्तरण गर्न सक्छ। अमेरिकामा मात्र होइन ह्वाट्सएप र फेसबुकको कार्यालय भएको जुनसुकै ठाउँमा त्यो पुर्‍याउन सक्छ।

नयाँ नीतिको अनुसार तपाईंले ह्वाट्सएपको लोकेसन फिचर प्रयोग नगरेपनि तपाईंको आईपी एड्रेस, लोकेसन, फोन नम्बर देश तथा शहर जस्ता जानकारीहरु ह्वाट्सएपसँग हुनेछ। यदि तपाई ह्वाट्सएपको विजनेस अकाउन्ट प्रयोग गर्नुहुन्छ भने तपाईंको विजनेसको जानकारी फेसबुक तथा अन्य बिजनेससँग सम्बन्धित संस्थाहरुमा पुग्नेछ।

ह्वाट्सएपले भारत लगायतका मुलुकमा आफ्नो पेमेन्ट सेवा पनि सुरु गरिसकेको छ। यसबाट त ह्वाट्सएपले अझ धेरै निजी जानकारीहरु लिनेछ। जस्तै तपाईंको पेमेन्ट अकाउन्ट तथा कारोबारसम्बन्धी जानकारी।

फेसबुकले २०१४ मा १९ अर्ब डलरमा ह्वाट्सएपको स्वामित्व खरिद गरेको थियो। २०१६ को सेप्टेम्बर महिनादेखि नै ह्वाट्सएपले यो डेटा फेसबुकसँग साझा गर्दै आइरहेको छ। तर ह्वाट्सएप यसले सामान्य प्रयोगकर्ताको जीवनमा कुनै असर नगर्ने बताउँछ।

साइबर सुरक्षा विशेषज्ञ तथा ‘ह्वाट्सएप ल’ किताबका लेखक पवन दुग्गल ह्वाट्सएपको नयाँ नीतिले प्रयोगकर्ताको मात्र नभएर गोपनीयता सुरक्षा सम्बन्धी देशको कानुनको समेत उल्लंघन भएको बताउँछ। तर ह्वाट्सएपले आफू क्यालिफोर्नियाको कम्पनी भएको कारण त्यहाँको कानूनको अधिनमा रहेर काम गरिरहेको दाबी गर्दछ।

तर कम्पनीहरुले जहाँसुकै बसेर सञ्चालन भइरहे पनि आफूले सेवा प्रदान गरिरहेको मुलुकको कानुनको परिपालना गर्नुपर्दछ। तर ध्यानपूर्वक हेर्नुभयो भने ह्वाट्सएपले युरोप, अमेरिका तथा ब्राजिल जस्ता क्षेत्रहरुमा फरक फरक नीति लागू गरेको छ।

यसरी यस किसिमका विषयलाई सम्बोधन गर्नसक्ने नेपालमा आईटी बिलको कानून पारित नभइसकेको अवस्थामा ह्वाट्सएपको यस प्रकारको नयाँ नीतिले थप चिन्ताजनक अवस्था सिर्जना गरेको छ। नयाँ नीतिसँगै अहिले मानिसहरु ह्वाट्सएप छाडेर त्यसका विकल्पको खोजी गर्न थालेका छन्।

यसैबीच अर्को सुरक्षित इन्क्रिप्टेड म्यासेजिङ एप सिग्नलको भने भाग्य चम्किएको छ। यदि तपाईं पनि ह्वाट्सएप छोडेर यसका अन्य विकल्पतिर जान सक्नुहुन्छ।

१. सिग्नल

ह्वाट्सएपको विकल्पमा अहिले सबैभन्दा अगाडि आएको एप भनेकै सिग्नल हो। प्रयोगकर्ताको गोपनीयतामा केन्द्रीत रहेको हुँदा यो एप निकै लोकप्रिय बनिरहेको छ। यो ह्वाट्सएप जस्तै एण्ड टु एण्ड इन्क्रिप्सनसहितको एप हो। प्रयोगकर्ताका सबै म्यासेज इन्क्रिप्टेड हुने र त्यसलाई कम्पनी वा अन्य थर्ड पार्टीले समेत हेर्न नमिल्ने व्यवस्था यसमा गरिएको छ।

सिग्नललाई एउटा गैरनाफामूलक संस्थाले डोनेसनको भरमा सञ्चालन गर्दै आएको छ। सिग्नल एप आफैंमा पनि ओपन सोर्स एप हो। यसका सम्पूर्ण कोडहरु अनलाइन तथा सार्वजनिक अनुगमनका लागि उपलब्ध हुन्छन्। यदि यसमा केही गोपनीयताको समस्या देखियो भने त्यसलाई सुरक्षा विज्ञहरुले चेक जाँच गर्न सक्छन्।

वास्तवमा ह्वाट्सएपको इन हाउस इन्क्रिप्सन सिस्टम पनि सिग्नलकै कोड प्रयोग गरी बनाइएको हो। युजर एक्सपिरियन्सको मामिलामा यो ह्वाट्सएपभन्दा कम छैन। त्यसैले ह्वाट्सएपबाट सिग्नलमा जान खासै ठूलो समस्या पनि हुँदैन। म्यासेज आदान प्रदान गर्न, ग्रुप बनाउन तथा भ्वाइस एवं भिडियो कल गर्न सबै कुराका लागि इन्टरफेस दुवैमा एकै किसिमको छ।

सिग्नल आईफोन, आईप्याड, एन्ड्रोइड, विण्डोज, म्याक र लिनक्स सबैमा उपलब्ध छ। यो एप निःशुल्क रुपमा प्रयोग गर्न सकिन्छ। यसमा तपाईंले आफ्नो फोन नम्बरबाट साइनअप गर्नुपर्ने हुन्छ।

Signal app

२. टेलिग्राम

गोपनीयताप्रति प्रतिबद्ध रहेकै कारण टेलिग्राम लामो समयदेखि ह्वाट्सएपको असल विकल्प मानिन्छ। यसमा तपाईंले दुई लाखसम्म प्रयोगकर्ताको ग्रुप बनाउन सक्नुहुन्छ। साथै दुई जीबीसम्मको फाइल निःशुल्क शेयर गर्ने सुविधा समेत यसमा छ। ह्वाट्सएपको डिसअपियरिङ म्यासेजभन्दा फरक यसमा पब्लिक च्यानल तथा सेल्फ डिस्ट्रक्टिङ म्यासेजहरु हुन्छन्।

टेलिग्राममा पृथक फिचरको सूची पनि निकै लामो छ। उदाहरणका लागि टेलिग्राम बोट्स। यो फिचरमार्फत च्याटबोट्स प्रयोग गरी विभिन्न सेवा तथा अटोमेसनहरु टेलिग्राममा इन्टिग्रेट हुन्छन्। यो एपमा एण्ड टु एण्ड इन्क्रिप्टेड च्याट छ। तर डिफल्ट च्याटहरु पनि टेलिग्रामको सर्भरमा स्टोर हुन्छन्। यदि तपाईं एकदमै गोप्य र डिभाइस टु डिभाइस इन्क्रिप्टेड च्याट चाहनुहुन्छ भने यसको सेक्रेट मोड फिचर प्रयोग गर्नुहोस्।

एकपटक इनेबल भइसकेपछि म्यासेजहरु तपाईंको फोनमा स्टोर हुन्छन्। एउटा व्यक्तिले म्यासेज डिलिट गरेपछि त्यो दुवै डिभाइसबाट डिलिट हुन्छ। यो निःशुल्क उपलब्ध छ। आईफोन, आईप्याड, एन्ड्रोइड, विण्डोज, म्याक, लिनक्स, एप्पल वाच र वेबमा उपलब्ध छ।

Telegram-App

३. डिस्कोर्ड

गेम च्याट प्लेटफर्मको रुपमा सुरु भएको डिस्कोर्ड समयक्रममा एउटा राम्रो म्यासेजिङ एपको रुपमा उदायो। आजको समयमा यो स्ल्याक र ह्वाट्सएपको राम्रो विकल्प हो। यो एउटा सर्भरमा आधारित एप हो। तर यसमा गोप्य म्यासेजिङ फिचर पनि छ। जुन ह्वाट्सएपको जस्तै छ।

यसको ‘फ्रेण्डस्’ ट्याबबाट तपाईंले साथीहरुलाई जोड्न सक्नुहुन्छ। यसका लागि साथीहरुको युजरनेम वा गेमर ट्याग प्रयोग गर्नुपर्ने हुन्छ। तपाईंले गोप्य म्यासेजिङ, ग्रुप च्याट, ग्रुप कल, मिडिया शेयरिङ र अन्य धेरै कुराका लागि डिस्कोर्डको प्रयोग गर्न सक्नुहुन्छ। यसमा १० जनासम्म ग्रुप च्याट गर्न सकिन्छ।

यदि तपाईंलाई थप आवश्यकता भएको अवस्थामा आफ्नै डिस्कोर्ड सर्भरबाट पनि सुरु गर्न सक्नुहुन्छ। निः शूल्क रुपमा रहेका फिचरले भरिपूर्ण यो एप गोप्य एप सिग्नल र टेलिग्रामभन्दा चाहि फरक छ। यसमा तपाईंले फोन नम्बरबाट साइनअप गर्नु पर्दैन वा वास्तविक नाम पनि आवश्यक पर्दैन। यसलाई तपाईंले आईफोन, आईप्याड, एन्ड्रोइड, म्याक, विण्डोज र लिनक्समा प्रयोग गर्न सक्नुहुन्छ।

Discord-app

४. किबेस

यदि तपाईं सेक्युरिटी किलाई ११ मा टर्न गर्न चाहनुहुन्छ भने किबेस प्रयोग गरी हेर्नुहोस्। किबेस प्राइभेट तथा पब्लिक आईडेन्टिफायर किका लागि कि डायरेक्टरीको रुपमा सुरु भएको हो। तर यसमा पनि एण्ड टु एण्ड इन्क्रिप्टेड म्यासेजिङ तत्व भने छन्। यो म्यासेजिङ फिचरलाई प्राइभेट म्यासेजिङ, ग्रुप र टिमका लागि प्रयोग गर्न सकिन्छ।

किबेस एउटा ओपनसोर्स एप हो। यसले पब्लिक कि क्रिप्टोग्राफी प्रयोग गरी म्यासेजलाई सुरक्षित गर्दछ। यसमा म्यासेज, मिडिया तथा फाइल ट्रान्सफरहरुलाई यसरी सुरक्षित राखिएको हुन्छ कि किबेसले पनि तपाईंको म्यासेज पढ्न सक्दैन। तपाईंले यो एपलाई निःशुल्क रुपमा प्रयोग गर्न सक्नुहुन्छ। यो आईफोन, आईप्याड, एन्ड्रोइड, म्याक, विण्डोज र लिनक्समा प्रयोग गर्न सकिन्छ।

Keybase-App

५. थ्रीमा

थ्रीमा एपले प्रयोगकर्ताको सुरक्षालाई निकै गम्भिरताका साथ लिन्छ। यो एप प्रयोग गर्न तपाईंले सुरुमा २.९९ डलरमा किन्नैपर्छ। जुन वान टाइम अर्थात एक पटकका लागि तिर्नुपर्ने शुल्क हो। यसको प्रतिफल स्वरुप तपाईंले यो प्लेटफर्मबाट जाने सम्पूर्ण डेटा तथा म्यासेजमा एण्ड टु एण्ड इन्क्रिप्सन सेवा पाउनुहुनेछ।

यसमा म्यासेज, भिडियो कल, फाइल तथा स्टाटस अपडेट सबै पर्दछन्। यसमा तपाईंले अज्ञातरुपमै सम्पर्क गर्न सक्नुहुन्छ। यसका लागि कुनै फोन नम्बर वा ईमेल अकाउन्ट भेरिफिकेसनको आवश्यकता पनि पर्दैन।

यसले तपाईंका लागि रेन्डम आईडी जेनेरेट गरिदिन्छ र त्यसमध्ये एउटा प्रयोग गरी तपाईंले सञ्चार गर्न सक्नुहुन्छ। थ्रीमाले तपाईंको कुनै पनि डेटा संकलन गर्दैन र कुनै विज्ञापन देखाउँदैन। यो स्वीटजरल्याण्डमा बनेको एप हो यसको सर्भर पनि त्यही मुलुकमा छ। यसमा पनि अन्य एपमा जस्तै फिचरहरु छन्। डेस्कटप वेबमा समेत यो प्रयोग गर्न सकिन्छ। यो आईफोन, आईप्याड, एन्ड्रोइड र वेबमा उपलब्ध छ।

यी पाँच विकल्प बाहेक बोनस विकल्पको रुपमा तपाईंले स्वदेशी एप हाम्रो पात्रोसमेत प्रयोग गर्न सक्नुहुन्छ। हालै मात्र हाम्रो पात्रोले म्यासेज, अडियो तथा भिडियो कलिङ सेवाको रुपमा हाम्रो म्यासेज सञ्चालनमा ल्याएको छ। एण्ड टु एण्ड इन्क्रिप्सन फिचर भएको यो एप नेपाली भाषामै प्रयोग गर्न सकिने सुविधासमेत छ। यो एपमा समेत प्रयोगकर्ताका सबै म्यासेज इन्क्रिप्टेड हुने र त्यसलाई कम्पनी वा अन्य थर्ड पार्टीले समेत हेर्न नमिल्ने व्यवस्था गरिएको छ।

Threema-App

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्