विराटनगर। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले ढुलमुले चरित्र परित्याग गरेर नेपाली काँग्रेस प्रतिगमनविरुद्धको आन्दोलनमा एक ढिक्का भएर अगाडी बढ्नुपर्नेमा जोड दिएका छन्। शनिबार विराटनगरमा आयोजित कार्यक्रममा नेता कोइरालाले व्यक्तिगत स्वार्थमा काँग्रेस ढुलमुलिँदा देश र राष्ट्रको भविष्य संकटमा पर्ने बताए।
उनले भने, ‘प्रचण्ड र माधवसँग बदला लिन र वैशाखमा चुनाव गराउन यो प्रतिगमन भएकै होइन, यसमा गहिरो षडयन्त्र छ, यसैले सच्याउन सबै एक भएर अगाडी बढ्नुको विकल्प छैन।’ डा. कोइरालाले प्रतिगमनले संघीयता र गणतन्त्रलाई खतरामा पारेकोले अब काँग्रेसले अदालतको फैसलालाई नपर्खिकन प्रस्ट भएर मानवअधिकारवादी र नागरिक समाजलाई समेत साथमा लिएर आन्दोलनमा जान ढिलाइ गर्न नहुने बताए।
नेता कोइरालाले काँग्रेस लोकतान्त्रिक पद्धतिप्रति प्रतिबद्ध भएकोले चुनावबाट नभाग्ने र अदालतको फैसलालाई मान्न तयार रहेको तर अदालतको बहनामा प्रतिगमन विरोधी आन्दोलनलाई कमजोर बनाउन कहिल्यै नचाहेको प्रस्टाए। काँग्रेस सभापति शेरबहादुर देउवाले अदालतको बहाना बनाउँदै प्रतिगमनविरुद्ध नबोल्न पार्टीमा रुलिङ गरेको तर आफूहरूकै कारण उहाँ प्रम ओलीको कदम असंवैधानिक र प्रतिगमनकारी हो भनेर बुझ्न र बोल्न बाध्य भएको दाबी गरे।
उनले सभापति देउवाकै कारण काँग्रेसले प्रतिगमन हुन नदिन र भइसकेपछि विरोधमा सशक्त भूमिका खेल्न नसकेको आरोप लगाए। नेता कोइरालाले भने, ‘मुख्य प्रतिपक्षी दल भएर हामी काँग्रेसले पनि खेल्नुपर्ने जति आफ्नो भूमिका सशक्त ढंगले निभाउन सकेका छैनौ तर अब सबै एक भएर अगाडी बढ्नपर्छ।’
प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेर प्रतिनिधिसभा विघटन गराउने कार्यमा नेकपा प्रचण्ड-माधव पक्षसँगै नेपाली काँग्रेसको नेतृत्व पनि दोषी रहेको उनले आरोप लगाए। ओलीले सर्वेसर्वा हुन प्रयत्न गरिरहँदा सबै कुरा सहँदै जानु सबैभन्दा ठूलो गल्ती भएको उनको भनाई छ। उनले भने, ‘शेरबहादुरजी र ओलीजी जस्तै व्यक्तिगत स्वार्थमा लोभिनुभयो यसैले सुरुदेखि नै खेल्नुपर्ने जति भूमिका काँग्रेसले खेल्न सकेन, हुनुपर्ने जति आन्दोलन पनि भएन, काँग्रेस अलमलमा परिरह्यो।’



लोकपाटी न्यूज

