काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवालाइ पारदर्शी, सहज र सरल बनाउन र घरबाट सरकारी सेवा दिने गरी नागरिक एप सुरु गरिएको बताएका छन्। नगारिक एपको शुभारम्भ समारोहमा भर्चुअल शुभकामनामार्फत प्रधानमन्त्री ओलीले सबै प्रकारका सरकारी सेवा एकीकृत एप मार्फत दिने र सेवा सहज सरल बन्नुका साथै भ्रष्टाचारमुक्त समाज निर्माण गर्न सहयोग पुग्ने बताए।
प्रधानमन्त्री ओलीले सम्भव भएसम्मका स्थानीयदेखि केन्द्रका सबै सरकारी सेवा एपमार्फत प्रदान गर्ने गरी परीक्षण गरिएको उल्लेख गर्दै नागरिकले झन्झट र दुःख व्योहोर्नुनपर्ने गरी सेवा प्रदान गर्ने बताए। ओलीले आगामी दिनमा एप्समा सवारी कर, अनुमतिपत्र लोकसेवालगायत सेवालाई पनि जोडिने जनाए। उक्त एप्स बढीभन्दा बढी प्रयोेग गरी लाभ लिन सबैमा आग्रह गर्दै उनले युवा पुस्ताले यसको प्रयोगको अगुवाइ गर्ने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने यो अभियानमा सहभागी हुन र सुधारका लागि सुझाव दिन तथा अग्रणी भूमिका निर्वाह गर्न सम्पूर्ण नागरिकलाई आहवानसमेत गरे।
नेपाल सरकारबाट प्रदान गरिने विभिन्न सेवालाई सरल, पारदर्शी र प्रभावकारी बनाउन सो एप परीक्षणका रुपमा ल्याइएको हो। सरकारको डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत यो महत्वपूर्ण कार्यक्रम भएको जनाइएको छ। सरकारले जनतालाई हातहातमै सरकारी सेवा दिने भन्दै ‘नागरिक एप’ सञ्चालनमा ल्याएको छ। सम्भव भएसम्मका सबैखाले सरकारी सेवाहरू एकीकृत तथा अन्तरआबद्ध गरी एउटै प्लेटफर्मबाट दिन ‘नागरिक एप’ सञ्चालनमा ल्याएको हो।
हाललाई परीक्षणका रूपमा सार्वजनिक गरिएको एपबाट प्यान कार्ड प्राप्त गर्न, आफूले तिरेको करको विवरण हेर्न तथा नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरण प्राप्त गर्न सकिनेछ। त्यस्तै, नागरिक लगानी कोष, सञ्चय कोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम र ऋण विवरणहरूको जानकारीसमेत लिन सकिनेछ। नागरिक एपबाट हेल्लो सरकारमा गुनासो गर्न तथा गुनासो सम्बोधन भए–नभएको समेत हेर्न सकिनेछ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले शुक्रबार ‘नागरिक एप’को बेटा भर्सन (परीक्षण रूप) शुभारम्भ गर्दै तीन महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याइने बताए। ‘नागरिक एप राष्ट्रिय गौरवको कार्यक्रम हो, यसले राज्यबाट नागरिकलाई दिने सेवालाई सरल, छिटो–छरितो र कम खर्चिलो बनाउनेछ,’ मन्त्री गुरुङले भने, ‘भौतिक लाइन होइन, अनलाइनबाट सेवा दिने उद्देश्यका साथ सरकारले नागरिक एप सञ्चालनमा ल्याएको हो।’
कसरी प्रयोग गर्ने नागरिक एप ?
नागरिक एपबाट सेवा प्राप्त गर्नका लागि ब्लमचयष्म मोबाइल प्रयोगकर्ताले Play Store/ iPhone प्रयोगकर्ताले Nagarik App (Beta) डाउनलोड गर्नुपर्नेछ। नागरिक एपबाट सेवा प्राप्त गर्न एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले प्ले स्टोर र आइफोन प्रयोगकर्ताले एप स्टोरबाट नागरिक एप (बेटा) डाउनलोड गर्न सकिन्छ। हाल आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बरका आधारमा नेपाल टेलिकम र एनसेलको सिममार्फत एपको प्रयोग गर्न सकिने मन्त्रालयले जनाएको छ। उक्त सेवा प्राप्त गर्न सम्बन्धित व्यक्तिले आफ्नो नागरिकता, मतदाता वा राहदानीमध्ये कुनै एकको विवरण उल्लेख गर्नुपर्नेछ।
के–केसँग गरिएको छ लिंक ?
नेपाल सरकारले प्रदान गर्ने सबै किसिमका सेवाहरूलाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवा प्रवाह गर्ने लक्ष्यबमोजिम सरकारी सेवाहरू प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ। नागरिक एपका लागि गृह मन्त्रालयसँग रहेको २ करोड १५ लाख नागरिकताको विवरण, निर्वाचन आयोगसँग रहेको १ करोड ५५ लाख नागरिकका औँठा छाप र फोटोसहितको विवरण, राहदानी विभागसँग रहेको राहदानीको प्रयोग गरेर नागरिकको डिजिटल परिचय बनाइएको हो। मन्त्रालयका अनुसार यसलाई राष्ट्रिय परिचयपत्रसँग समेत जोडिनेछ।
बिदामा पनि सरकारी सेवा
‘लाइन होइन, अनलाइनबाट २४सै घन्टा सरल, सहज र प्रभावकारी सरकारी सेवाका लागि नागरिक एप’ भन्ने नाराका साथ सुरु गरिएको एपमार्फत निकट भविष्यमै ४० भन्दा बढी सरकारी सेवा लिन सकिने मन्त्रालयले जनाएको छ। यो एपको प्रयोगबाट फेसलेस, पेपरलेस र समयको बचत हुने तथा सार्वजनिक बिदाका दिन पनि सेवा लिन सकिने मन्त्रालयले उल्लेख गरेको छ। नागरिक एपबाट प्रवाह गरिने सरकारी सेवाहरू पारदर्शी, भरपर्दो र सुरक्षित हुने मन्त्रालयको दाबी छ।
यस्ता छन् एपका विशेषता
- नागरिकले ’नागरिक एप’बाट प्यान कार्डसम्बन्धीआवेदन गरी प्यान नम्बर प्राप्त गर्ने।
- सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत जानकारी लिन सकिने।
- नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरणहरु प्राप्त गर्न सकिने।
- नागरिक लगानीकोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम र ऋण विवरणहरुको जानकारी लिन सकिने।
- हेलो सरकारमा गुनासो गर्न सकिने व्यवस्था रहेको।
- सरकार तथा सार्वजनिक निकायले नागरिकका गुनासो सुनुवाई गरी सम्बोधन गरिएको पनि हेर्न सकिने।
- यो एपको प्रयोगबाट फेसलेस, पेपरलेस र समयको बचत हुने तथा सार्वजनिक बिदाको दिन पनि सेवा लिन सकिने।



लोकपाटी न्यूज

