ओली र पौडेल साधारण सदस्यकै लागि अयोग्य

KP Oli-Bishnu Paudel
लोकपाटी न्यूज

काठमाडौं। नेकपाको प्रचण्ड–नेपाल समूहले अर्को समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई पार्टी सदस्यतासमेत नरहने गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ। पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बसेको स्थायी समिति बैठकले कारबाहीको प्रक्रिया अगाडि बढाउनका लागि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

स्थायी कमिटी सदस्य बेदुराम भुसालले संसद् विघटन गरेर संविधान र लोकतन्त्रलाई नै संकटमा पु¥याएका कारण कारबाही प्रक्रिया अगाडि बढाउन स्पष्टीकरण सोध्ने निर्णय भएको जानकारी दिए। नेकपाको विधानअनुसार कुनै पनि पार्टी सदस्यलाई कारबाही गर्नुअघि स्पष्टीकरण सोध्ने र सफाइको मौका दिने व्यवस्था छ। त्यही व्यवस्थाअनुसार प्रक्रिया अगाडि बढाइएको भुसालले बताए।

त्यस्तै, बैठकले अर्को समूहमा रहेका महासचिव विष्णु पौडेललाई महासचिवको जिम्मेवारीबाट हटाउने निर्णय पनि गरेको छ।

बैठकले १६ माघमा सहिद दिवसको अवसरमा काठमाडौंमा बृहत् विरोध प्रदर्शन र आमसभा गर्ने निर्णय पनि गरेको छ। यसअघि माघ २३ मा गर्ने भनिएको कार्यक्रमलाई एक साता अघि सार्दै काठमाडौंमा बृहत् प्रदर्शन गर्ने नेकपाले निर्णय गरेको हो।

त्यस्तै, प्रदेश १ को अध्यक्षमा घनेन्द्र बस्नेत तथा सहइञ्चार्जहरूमा जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई, जयन्ती राई, राम कार्की, पदम राई र पेसल खतिवडालाई स्थायी कमिटी बैठकले जिम्मेवारी तोकेको छ। प्रदेश १ को इञ्चार्ज भीम आचार्य छन्।