मोरङ। नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले नेपालमा संसदीय व्यवस्था र संविधानको अवसान भइसकेको बताएका छन्। शुक्रबार मोरङमा आयोजित पत्रकार सम्मेलनमा वैद्यले अहिलेको अवस्थामा विघटित प्रतिनिधि सभा पुनस्थापनाको आवश्यकता नभएको बताए।
‘लोकतन्त्र र संविधानको असफलताको प्रतिक प्रतिनिधिसभा विघटन हो,’ उनले भने, ‘नेकपाको दुई समूहमध्ये एकथरिले पुनस्थापना र अर्कोले चुनाव भनिरहेको अवस्थामा सर्वोच्च अदालतले जेसुकै फैसला गरे पनि यी दुबैले जनताको हित हुँदैन।’ उनले दुई तिहाई बहुमतको सरकारले प्रतिनिधिसभा विघटन गर्नुलाई मुर्खता र फासीवादी कदमको संज्ञा दिए।
पार्टीभित्र पद, प्रतिष्ठा र अह्मताको लडाईँका कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटनसम्म पुग्नुपर्ने अवस्था सिर्जना भएको वैद्यको भनाइ छ। नेकपाभित्रका दुई समूहको लडाइँले मुलुकमा संकटकाल लाग्ने र अहिलेको भन्दा खतरनाक व्यवस्था आउने ठोकुवा गरे। आफूहरु सधैँ संसदीय प्रणालीको विरोधमा रहेको बताएका वैद्यले वैशाखमा हुने आमनिर्वाचन पनि जनताको पक्षमा नहुने उल्लेख गरेका थिए।
वैद्यले क्रान्तिकारी कम्युनिस्टहरुसँग मोर्चाबन्दी गरेर आन्दोलनमा जाने तयारी गरेको बताए। ‘क्रान्तिकारी कम्युनिस्टहरुसँग मोर्चाबन्दी गरेर अब मुलुकमा जनगणतन्त्र ल्याउन संघर्ष गर्छौं,’ उनले भने, ‘शान्तिपूर्ण आन्दोलनबाटै जनगणतन्त्र ल्याउने तर शान्तिपूर्ण रुपमा सम्भव नभएको अवस्थामा बलपूर्वक अघि बढ्छौं।’
वैद्यले मोर्चाबन्दीका लागि अहिले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग छलफल भइरहेको बताए। ‘चन्दको सबै विचारसँग सहमति नभएकाले उनीहरुले सच्चिएर आउनु पर्छ,’ उनले भने, ‘सबै क्रान्तिकारी कम्युनिस्टसँग कार्यगत एकता भए पनि पुष्पकमल दाहाललाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग बदला लिन सघाउँदैनौं।’
प्रचण्डले देश र जनतासमक्ष गम्भीर गल्ती गरेको स्विकार्दै सच्चिएर आए मात्रै कार्यगत एकता हुने उनले स्पष्ट पारे। जनगणतन्त्रका लागि संसदीय परिपाटीमा अल्झिएका दल बाहेकका शक्तिसँग मिलेर अगाडि बढ्ने आफूहरुको योजना रहेको वैद्यको भनाइ छ।



लोकपाटी न्यूज

