काठमाडौं। पटना-मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइन फुटाएर डिजेल चोरी भएको छ। बिहारको सिवान जिल्लाको डुमरा गाउँ नजिकै पाइपलाइन फुटाएर चोरी भएको हो।
पाइपलाइनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले खेतमा डिजेल बगेको देखेपछि डिजेल चोरी भएको खुलेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। सुरक्षाकर्मीले खेतमा डिजेल बगेको देखेपछि भारतीय आयल निगमका अधिकारीहरूलाई खबर गरेको समाचारमा उल्लेख गरिएको छ।

बिहारमा पेट्रोलियम पाइपलाइन फुटाएर चोरी भएको यो पहिलो घटना भएको पनि नवभारत टाइम्सले उल्लेख गरेको छ। जिल्ला प्रशासन कार्यालय सिवानका अधिकारीहरूले करोडौं रुपैयाँ बराबरको डिजेल चोरी भएको आशंका गरेका छन्।
मेन पाइपमा प्वाल बनाएर सानो पाइपबाट डिजेल चोरी गरिएको नवभारत टाइम्सले उल्लेख गरेको छ। करिब चार फिट तलको पाइपलाइनमा सानो पाइप जोडेर डिजेल चोरी गरिएको हो।
घाटा कसलाई ?
बाराको अमलेखगन्जस्थित नेपाल आयल निगमको डिपोमा पटनाबाट सिवान र मोतिहारी हुँदै पेट्रोलियम पाइपलाइनमार्फत डिजेल आपूर्ति हुँदै आएको छ। यो दक्षिण एसियाकै पहिलो क्रसबोर्डर पेट्रोलियम पाइपलाइन हो। सोही पाइपलाइन फुटाएर चोरी भएको हो।
पाइपलाइन फुटाएर चोरी भएको घटनाप्रति नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेलले दुख व्यक्त गरेका छन्। उनले पाइपलाइनको सुरक्षामा थप सम्वेनशिल बन्नुपर्ने देखिएको बताए। उनले यसरी तेल चोरी हुँदा नेपाललाई प्रत्यक्ष घाटा भने नहुने बताए। उक्त पेट्रोलियम पाइपलाइनको भारततिरको सुरक्षा तथा मर्मतको जिम्मा भारत सरकारको हुने उनले बताए।
नेपालको नेपाली भूभाग क्षेत्रको मात्र सुरक्षा तथा मर्मतको जिम्मेवारी हुने पौडेले बताए। उनले भने, ‘चोरीको घटना रक्सौलभन्दा दुई किलोमिटर पर भारत पट्टि हो। भारततिरको सुरक्षाको जिम्मा भारतको हो। पाइपलाइन बिग्रियो भने पनि मर्मत सम्भारको उसले नै गर्छ। चुहावट भएर कम पेट्रोलियम पदार्थ कम आएपनि त्यो जिम्मा पनि भारतकै हो। कम तेल आउँदा पनि मिटरले जाँचबुझ हुन्छ। त्यस कारण उक्त घटनाको सरोकार हाम्रो होइन।’
सरकारले नेपालतर्फको पेट्रोलियम पाइपलाइनको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिएको उनले बताए। नेपाली सेनाले पेट्रोलियम पाइपलाइनको सुरक्षा दिइरहेको उनको भनाई छ। ‘सरकारले नेपाल तिरको पाइपलाइनको जिम्मा नेपाली सेनालाई जिम्मा दिइसकेको छ,’ पौडेलले भने, ‘यसको सुरक्षा कार्यविधि मन्त्रिपरिषद् पुगिसकेको छ। चोरीको घटना नेपाल तिरको समस्या होइन।’



लोकपाटी न्यूज