काठमाडौं। सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्दसहित विरोधका कार्यक्रम सार्वजनिक गरेको छ। सो पार्टीले माघ १० गते शनिबार नेपाल बन्द गर्ने जनाएको छ।
पार्टी महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा माघ ३ गते देशव्यापी विरोध जुलुस, ५ गते देशव्यापी विरोध सभा, ७ गते देशव्यापी विरोध प्रदर्शन र ९ गते देशव्यापी मशाल जुलुस गर्नेसमेत जनाएको छ। केपी ओली नेतृत्वको सरकारले पार्टीको काममा खटिएका नेता कार्यकर्तालाई पक्राउ गरी यातना दिने, दुव्र्यवहार र कुटपिट गर्ने गरेको घटनाको निन्दा विप्लव नेकपाले गरेको छ।
हिरासतमा निर्मम यातना दिने, जेल हाल्ने र लाखौं धरौटी तोक्ने गरेकोले त्यो सबै गतिविधि बन्द गर्न पार्टी महासचिव विप्लवले माग गरेका छन्। पुस २९ गते पार्टी केन्द्रीय सचिवालय सदस्य कन्चन, विवेक र विशाललाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको घटनामा गम्भीर ध्यानाकर्षण भएको बताउँदै उसले त्यस्ता गैरन्यायिक गतिविधि रोक्न माग गरेको छ।
जनताको मुक्तिका लागि सुरु गरिएको आन्दोलन धरपकड र यातनाले नरोकिने विप्लवले स्पष्ट पारेका छन्। पार्टीको आन्दोलनले उचाई चुम्दै गएको दाबी गरिएको विज्ञप्तिमा दमनले सफलता प्राप्त नगर्ने र केपी ओली नेतृत्वको सरकार छिट्टै पतन हुने ठोकुवा गरिएको छ।
यसअघि नै विप्लव नेतृत्वसहितका चार पार्टी सरकारविरुद्ध मोर्चा बन्दी गरेर संघर्षमा उत्रेको घोषणा गरेका थिए। प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस, प्रचण्ड-नेपाल समूहको नेकपा, जसपालगायतका दल सडक संघर्षमा उत्रेका बेला विप्लवको देशव्यापी विरोध कार्यक्रमलाई राजनीतिक वृत्तमा अर्थपूर्ण ढंगमा लिइएको छ।




लोकपाटी न्यूज

