संवैधानिक इजलासका चार न्यायाधीशसँग प्रधानमन्त्री ओलीको गोप्य भेट

KP Sharma Oli-33
लोकपाटी न्यूज

काठमाडौं। प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पालैपालो सर्वोच्च अदालतका न्यायाधीशहरूसँग भेटवार्ता गरेको खुलेको छ। असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा त्यही मुद्दा हेरिरहेको संवैधानिक इजलासका न्यायाधीश सपना मल्ल प्रधानसहित चार न्यायाधीशसँग गोप्य रुपमा भेटेका छन्।

प्रधानमन्त्रीको नीजि सचिवालय निकट स्रोतका अनुसार पुस २७ गते सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र हरिकृष्ण कार्कीले बालुवाटारमा दिउँसो १ः२० बजेदेखि २ः४५ बजेसम्म प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्। प्रधानमन्त्रीसँग भएको भेटवार्ताबारे सोध्न शुक्रबार बिहान नेपालखबरले न्यायाधीश मल्ल र कार्कीसँग फोनमा सम्पर्क गर्न खोज्दा उनीहरू दुवै जना सम्पर्कमा आउन चाहेनन्।

प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा आज पनि संवैधानिक इजलासमा बहस हुँदैछ। मल्ल र कार्की दुवै पूर्वएमाले कोटाबाट सर्वोच्चको न्यायाधीश बनेका हुन् र प्रधानन्यायाधीशको रोलक्रममा रहेका छन्। कार्की बाहिरिएपछि चार जनाको सैवैधानिक इजलासमा प्रधानन्यायाधीशले मल्ललाई समावेश गरेका थिए।

त्यस्तै प्रधानमन्त्री ओलीले पुस २६ गते सर्वोच्चका वरिष्ठ न्यायाधीशद्वय दिपक कार्की र मीरा खड्कासँग पनि भेटेको स्रोतले जनाएको छ। प्रधानमन्त्री ओलीसँग कार्की र खड्काले राति ८ बजेबाट ९ः१० बजेसम्म बालुवाटारमै भेटवार्ता गरेका थिए। प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको र प्रधानमन्त्री ओलीले संसद पुनस्थापना हुन नदिन सेटिङ मिलाइरहेको चर्चा भइरहेका बेला न्यायाधीशहरूले बालुवाटारमा पालैपालो भेटवार्ता गरेका हुन्।

बुधबार संवैधानिक इजलासमा मुद्दा वृहत् पूर्ण इजलासमा पठाउने कि नपठाउने भन्ने विषयमै बहस केन्द्रित भएको थियो। तर कुनै निर्णय नभइ सुनुवाइ आज शुक्रबारका लागि सरेको थियो। आज संवैधानिक इजलासमा फेरि त्यही बहसले निरन्तरता पाउँदै छ।