म उपलब्धि संस्थागत गर्न सरकारमा गएँः मन्त्री रायमाझी

Top Bdr Rayamajhi
लोकपाटी न्यूज

बुटवल। ऊर्जा तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझीले एमसीसी लागू गर्ने/नगर्नेबारे तत्काल निर्णय गर्नुपर्ने बताएका छन्। शुक्रबार बुटवलमा आयोजित साक्षात्कारमा उनले विद्युत् उत्पादन बढ्दै गएको तर विस्तार गर्न ट्रान्समिसन लाइन नभएकाले अब एमसीसीबारे निर्णय लिइहाल्नुपर्ने बताएका हुन्।

‘एमसीसी लागू गर्नै हुन्न भने खारेज गर्नुपर्‍यो, नत्र लागू गर्नुपर्‍यो। हुन्छ कि हुन्न भनेर कुरिराख्न भएन,’ उनले भने, ‘कुर्ने एक सेकेन्ड फुर्सद छैन।’ उर्जामन्त्री रायमाझीले आउँदो जेठसम्म ५० मेगावाट र अर्को भदौसम्म ५ सय मेगावाट विद्युत् बढी हुने भए पनि ट्रान्समिटर लाइन विस्तार नहुँदा त्यसलाई बेच्न सक्ने आधार तयार नभएको बताए। यसले गर्दा दैनिक एक अर्बबराबरको घाटा लाग्न सक्ने उनको भनाइ छ।

‘एमसीसी राष्ट्रहितको विपरीत नै छ भने दल, नागरिक समाज एक ठाउँ होऔं। त्यसलाई खारेज गरौं र राष्ट्रिय स्रोतबाट लाइन विस्तार गरौं,’ उनले भने, ‘एमसीसीलाई बन्धक नबनाऔं। अबको एक वर्षमा उत्पादन हुने विद्युत् बेच्ने आधार तयार गरौं।’

अर्को एक प्रसंगमा मन्त्री रायमाझीले नेकपा अन्तर्द्वन्द्वका कारण सरकारविहीनताको अवस्था आएकाले त्यसलाई बचाउन आफू सरकारमा गएको बताए। ‘आफ्नै दलभित्रको विवाद मिलाउन नसकेर प्रचण्ड-नेपाल सडकमा ढुंगा हान्न जानुभयो,’ उनले भने, ‘म उपलब्धि संस्थागत गर्न सरकारमा गएँ, फरक त्यत्ति हो।’

जनताले विकास र संवृद्धि प्राप्ति गर्न पठाएका बेला पार्टीभित्रको द्वन्द्व समाधान गर्न नसकेर सडकमा ढुंगा हान्न जानु लोकतन्त्र र जनमतविपरीत रहेको उनले बताए। चुनावमा जाने र ताजा जनादेश लिएर सरकार चलाउछुँ भन्नु लोकतन्त्र र संविधानविपरीतको काम नभएको उनको तर्क छ।