काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि पार्टी कार्यालय पेरिसडाँडामा बस्दै छ। हिजोदेखि जारी बैठक आज पनि बस्न लागेको हो। समान वरियताका दुई जना अध्यक्ष रहेकाले यस पटकको बैठकको अध्यक्षता पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन्।
आज बस्ने बैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने र माधव नेपाल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ। पुस ५ गतेको प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको सिफारिस गर्ने निर्णयविरूद्ध पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपा आन्दोलित छ। तर, आन्दोलनमा अपेक्षा अनुसार जन सहभागिता नभएपछि यसलाई थप सशक्त बनाउन नेताहरु छलफलमा रहेको बताइएको छ।
हिजोको बैठकमा बोल्ने अधिकांश सदस्यहरूले उपत्यका केन्द्रित आन्दोलन प्रभावकारी नभएको विश्लेषण गरेका थिए। आजको बैठकमा अध्यक्ष नेपाल नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदनमाथि पनि छलफल हुनेछ।
पार्टी विभाजनपछि केपी ओली समूहमा लागेकाहरूलाई हटाएर नयाँलाई जिम्मेवारी दिनेगरी नेता नेपालले प्रस्ताव तयार पारेका छन्। पुष ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटनको घोषणा गरेपछि नेकपाको ‘प्रचण्ड–नेपाल’ खेमा आन्दोलनमा छ।



लोकपाटी न्यूज

