काठमाडौँ। इक्यान शैक्षिक मेलाको १४ औं संस्करण आजदेखि सुरु हुँदै छ । कोभिड–१९ को महामारीका कारण नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले यसपटक भर्चुअल एजुकेसन मेला आयोजना गरेको हो।
सोमबार सकिने चारदिने मेलामा करिब एक लाख विद्यार्थी र अभिभावकले सहभागिता जनाउने आयोजकको अपेक्षा छ। मेला सुरु हुनुअघि नै करिब ३० हजार विद्यार्थी सहभागी हुनका लागि अनलाइनमार्फत दर्ता भइसकेका छन्।
इक्यानले हरेक वर्ष विदेश अध्ययन गर्न चाहने विद्यार्थी र उनीहरूका अभिभावकलाई लक्षित गर्दै शैक्षिक मेला आयोजना गर्दै आएको छ। यसपटक भाइरसको महामारीका कारण भर्चुअल रूपमा मेला आयोजना गरिएको आयोजक समितिका संयोजक वासुदेव दाहालले जनाए। ‘विदेश पढ्न जाने विद्यार्थीका लागि यो क्षेत्र खुल्ला र सुरक्षित रहेको सन्देश मेलाबाट दिन लागेका छौं,’ उनले भने।
कोभिडपछि पनि नेपाली विद्यार्थीको विदेशप्रतिको आकर्षण नघटेको इक्यान आबद्ध संस्थाहरूले जनाएका छन्। अन्तर्राष्ट्रिय क्षेत्रमा विद्यार्थीको गतिविधि क्रमशः झनै बढ्ने उनीहरूको दाबी छ। ‘विद्यार्थीले कोभिडपछि पनि विदेशको शिक्षा रोजिरहेका छन्,’ संयोजक दाहालले भने, ‘त्यस्ता विद्यार्थीलाई सहज र सरल होस् भनेर मेलामा अधिक जानकारी दिने व्यवस्था मिलाएका छौं।’
विदेशी विश्वविद्यालय र कलेजहरूमा छात्रवृत्ति र सेवासुविधाका प्याकेजहरू झनै बढेको दाहालले जनाए। ‘त्यो अवसर र सुविधा नेपाली विद्यार्थीलाई पनि दिन चाहन्छौं,’ उनले भने, ‘यो सूचना विद्यार्थी र अभिभावकका बीचमा पुर्याउनु मेलाको मुख्य उद्देश्य रहेको छ।’
विदेशमा अध्ययन गरिरहेका विद्याथीलाई कोभिडपछि विभिन्न सहायता र सहज रूपमा बैंकबाट ऋणसमेत उपलब्ध भएको क्यान पदाधिकारीको भनाइ छ। आकर्षण सुविधाकै कारण महामारीमा पनि नेपाली विद्यार्थी स्वदेश फर्कन नचाहेको संयोजक दाहालले जनाए। ‘स्वास्थ्य बिमाका कारणले नेपाली विद्यार्थीले यहाँभन्दा आफुलाई अध्ययन गरिरहेको देशमा सुरक्षित ठाने,’ उनले भने।
प्राविधिक रूपमा मेलाको तयारी पूरा गरिएको आयोजकले जनाएको छ। ‘इक्यान फेयरमा लग इन’ गरेर मेलामा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ। त्यसमा प्रि–रजिस्ट्रेसन गर्न सकिने व्यवस्था पनि छ। रजिस्ट्रेसनपछि अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा कलेजहरू, मेलामा सहभागी संस्था, शैक्षिक कन्सल्टेन्सी, बैंकलगायतसँग विद्यार्थी, अभिभावकले सीधा सर्म्पक गरेर संवाद गर्न सक्नेछन्। ‘विद्यार्थीले आफूले रोजेको देशको शिक्षण संस्था, शैक्षिक कन्सल्टेन्सी र बैंकका प्रतिनिधिसँग विविध जिज्ञासा राखेर जानकारी प्राप्त गर्न पाउनेछन्,’ उनले भने।
भर्चुअल मेला शुक्रबारदेखि सोमबारसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। विद्यार्थीलाई विदेशी शिक्षण संस्था, नेपालस्थित शैक्षिक परामर्शदाता र विभिन्न बैंकका प्रतिनिधिले काउन्सिलिङ गर्नेछन्। ‘विद्यार्थीले रोजेको देश, कलेज, कोर्सबारे धेरैभन्दा धेरै जानकारी दिएर काउन्सिलिङ गर्छौं,’ संयोजक दाहालले भने। विद्यार्थीको चाहनालाई नै ध्यानमा दिएर सम्बन्धित मुलुकको शिक्षा प्रणाली, त्यहाँ जान पूरा गर्नुपर्ने प्रक्रियाहरू आदानप्रदान गरिने इक्यानका पूर्वअध्यक्ष विष्णुहरि पाण्डेले जनाए। इक्यानमा ४ सय ७३ वटा परामर्शदाता संस्थाहरू आबद्ध छन्। मेलामा ती संस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ।
मेलामा सहभागी बैंकहरूले विद्यार्थीलाई अध्ययनलगायत वैदेशिक शिक्षाका लागि लागत र रकम पठाउने माध्यमबारे जानकारी दिने व्यवस्थासमेत गरिएको छ। विद्यार्थी र अभिभावकलाई वैदेशिक शिक्षाबारे सही परामर्श र सूचना दिनेबाहेक अन्य उद्देश्य नरहेको इक्यानले जनाएको छ। ‘विदेश पढ्न जान चाहने विद्यार्थी र पठाउन चाहने अभिभावक कोरोनाले अलमलमा हुनुहुन्छ,’ पाण्डेले भने, ‘परामर्श क्षेत्र खुल्ला छ, विदेश पढ्न जाने र फर्कने क्रम चलिरहेको छ, यही कुरा प्रस्टसँग मेलामा राख्छौं।’
मेलाले कन्सल्टेन्सी, विद्यार्थी र अभिभावकमा विश्वासको वातावरण झनै बढ्ने र व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। ‘कोरोनाले वैदेशिक शिक्षाको क्षेत्रमा पनि थुप्रै चुनौती देखिएको छ, सुरुको अवस्थामा ठप्पै भयो, अहिले यो क्षेत्र पनि चलायमान हुँदै गएको छ,’ उनले भने, ‘मेलापछि शैक्षिक परामर्श क्षेत्र पनि पुनर्जागरण हुन्छ।’
कान्तिपुर दैनिक लेख्छ – कोरोनापछि विभिन्न देशले विदेशी विद्यार्थीलाई पठनपाठन गराउने नीति हेरफेर गरेकाले पनि मेलामार्फत सही र स्पष्ट जानकारी प्राप्त गर्न सकिने इक्यानको भनाइ छ। सम्बन्धित देश, शिक्षण संस्था कोर्स, भिसा प्रणालीलगायत अन्य सेवासुविधा र प्रक्रियाबारे जानकारी पाउन विद्यार्थीलाई मेलामा सहभागी हुन पूर्वअध्यक्ष पाण्डेले आग्रह गरे।



लोकपाटी न्यूज

