प्रधानमन्त्री ओलीलाई विद्यार्थीले भने–‘संविधान पढ्न ल क्याम्पस आउनोस्’

PM_KP_OLI
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूह निकट विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन अनुरोध गरेको छ।

बुधबार अनेरास्ववियूले प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध संविधानवाचन कार्यक्रम गर्दै प्रधानमन्त्री ओलीलाई संविधान पढ्न ल क्याम्पस आउन अनुरोध गरेको हो।

कार्यक्रममा बोल्दै अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले प्रधानमन्त्री ओलीले व्यक्तिगत स्वार्थ र कुर्सीका लागि गैरसंवैधानिक कदम चालेको बताए।

यनले संविधानको सही व्याख्या भएन र सर्वोच्च अदालतले न्याय दिएन भने विद्यार्थीहरुले न्यायाधीशहरुलाई बाटो छेकेर संविधानको कुन धारा अनुसार प्रधानमन्त्रीको कदम संवैधानिक हो भन्ने प्रश्न गर्नुपर्ने बताएका थिए।

अनेरास्ववियूका नेता सुदेश पराजुलीले संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको कुनै अधिकार नदिएको दावी गरे। अनेरास्ववियूले प्रतिनिधि सभा विघटनको विरुद्धमा निरन्तर विरोधका कार्यक्रम गर्दै आइरहेको छ।