काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ लाई नेपाल र भारतको विचमा रहेका सबै समस्याहरु हल भएको वर्षको रुपमा घोषणा गरिने बताएका छन्। भारतीय टेलिभिजन जी न्यूजलाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले चीनसँग सीमा सम्बन्धी कुनै पनि विवाद नरहेको र भारतसँग भने सानो समस्या रहेको र सन् २०२१ मा त्यो पनि समाधान हुने दावी गरेका छन्।
प्रधानमन्त्री ओलीले भनेका छन्, ‘सन् २०२१ लाई नेपाल र भारतको विचमा कुनै पनि समस्या नरहेको वर्षको रुपमा घोषणा गरिने छ।’ उनले अगाडि भनेका छन्, ‘स्पष्ट रुपमा भन्दा चीन र भारतसँग कुनै पनि खालका समस्याहरु रहेका छैनन्। भारतसँग एउटा सानो समस्या (कालापानी) रहेको छ।’
भारतसँगको सीमा समस्याको सम्बन्धमा प्रधानमन्त्री ओलीले सुगौली सन्धिपछि कालापानी, लिपुलेक र लिम्पियाधुरा १४६ वर्षसम्म नेपालको नियन्त्रणमा रहेको सन् १९६२ मा भारतीय सेना त्यहाँ बसेपछि नेपालको प्रयोगमा ती भूमि नरहेको समेत उल्लेख गरेका छन्। नक्साको विषय पनि संवादबाट सुल्झाउन सकिने ओलीको भनाइ थियो।
‘भारतले पहिला पनि नक्सा जारी गर्यो, त्यहाँ बाटो बनायो। हामीले संवाद गरौँ भनिरहेको वेला बाटो उद्घाटन पनि गर्यो, त्यो आवश्यक थियो ?’ ओलीले भने, ‘नेपालले पनि आफ्नो नक्सा जारी गरेको छ। विवाद छ भन्दैमा नक्सा जारी गर्ने काम रोकिँदैन। अहिले फरक-फरक नक्सा छन्। भोलि जुन दिन निर्क्यौल हुन्छ नक्सा एकै प्रकारका बन्छन्।’
ओलीले भूगोल र जनसंख्यामा ठूलो र सानो भए पनि नेपाल र भारत दुवै सार्वभौम देश भएकाले समानताका आधारमा मित्रता बलियो बनाउन जोड दिए। उनले भनेका छन्, ‘हामीले सधैँ सर्वव्यापी समानताको हिसाबले संवाद र सम्बन्ध राख्नुपर्छ। भारत र त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीलाई यसमा आपत्ति छैन।’
जी न्युजका सुधीर चौधरीले भारत र नेपाल राम र लक्ष्मण भएमा आपत्ति हुनुपर्ने कारण के छ भनेर सोधेका थिए। जवाफमा ओलीले भने, ‘तपाईंको प्रश्नले भन्छ कि भारत भगवान् वा ठूलो हो, तर वास्तविकता हामी दुवै बराबरी हौं। भारतले अब आफूलाई ठूलो वा बोस सोच्छ भन्ने पनि मलाई लाग्दैन। किनकि अब औपनिवेशको जमाना गयो। समानताको युग आयो।’
दक्षिण एसियाली देशमा विज्ञान र प्रविधिको विकास पहिले नै भए पनि त्यसको सदुपयोग हुन नसकेको पनि ओलीले बताए। ‘न्युटनले भन्दा अघि नै भास्कराचार्यले गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाएका थिए। अन्य धेरै सिद्धान्त पनि पहिले यही क्षेत्रमा विकास भएका थिए। तर, के कारणले हो भारत पनि गरिब रह्यो, नेपालले पनि अहिलेसम्म विकास गर्न सकेन। अब सबैले आ-आफ्नो विकासमा ध्यान दिनुपर्छ। एक-अर्कालाई शोषण गर्नुहुँदैन,’ उनले भने।



लोकपाटी न्यूज

