काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) ले मध्यावधि चुनाव हुन नसकेमा देश पुनरुत्थानवाद वा झनै निरङ्कुशतावादको बाटोमा जान सक्ने खतरा औँल्याएको छ। पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा सो खतराको आँकलन गरिएको हो।
गत पुस २४ देखि २६ गतेसम्म काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठकमा महासचिव किरणले ‘वर्तमान परिस्थिति र पार्टीको कार्यभार’ शीर्षक रहेको राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए।
आवश्यक विचार, विमर्स, थपघट र परिमार्जन सहित सो प्रस्ताव सर्वसम्मत रुपमा पारित गरिएको उक्त प्रस्तावमा प्रस्तावमा प्रतिनिधिसभा विघटनको कदमलाई एकातिर आर्थिक, राजनीतिक तथा सांस्कृतिक रुपमा संकटग्रस्त बन्दै गएको वर्तमान प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था र संविधानको असफलताको द्योतक तथा परिणाम र अर्कोतिर गणतन्त्र, संघीयता तथा धर्मनिरपेक्षताका विरुद्ध परिलक्षित निरङ्कुशतावादी तथा फासीवादी कदमका रुपमा विश्लेषण गरिएको छ।
उक्त राजनीतिक प्रस्तावमा नेपाली राजनीतिक क्षितिजमा तीन प्रकारका संभावना वा परिदृश्य देखापरेको उल्लेख गरिएको छ। त्यस अनुसार- पहिलो, संसदीय मध्यावधि निर्वाचन वा पुनस्थापना गरिएका दुवै अवस्थामा विद्यमान संकटको समाधान हुन सक्दैन। दोस्रो, देशीय प्रतिक्रियावादी शक्तिहरुबीचका अन्तर्विरोध तथा वैदेशिक चलखेल बढ्दै गएमा वा अन्य कुनै कारणले मध्यावधि चुनाव हुन नसकेमा देश पुनरुत्थानवाद वा झनै निरङ्कुशतावादको बाटोमा जान सक्तछ। तेस्रो, वामपन्थी, देशभक्त तथा जनवादी शक्तिहरु एकतावद्ध भई संयुक्त संघर्षलाई प्रभावकारी ढंगले विकसित तुल्याउन सकेमा देश अग्रगामी निकास तर्फ अगाडि बढ्न सक्तछ। प्रस्तावमा उक्त तीन संभावना मध्ये तेस्रो संभावना तर्फ केन्द्रित हुनु पर्नेमा जोड दिइएको छ ।
केन्द्रीय समितिको बैठकमा पारित राजनीतिक प्रस्तावमा वर्तमान सत्ता तथा व्यवस्थामा पैदा भएको संकटको वास्तविक निकास र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुको समाधान संघीय जनगणतन्त्रको स्थापना बाटै हुने कुरा उल्लेख गर्दै त्यसका लागि देशभक्त, जनवादी तथा वामपन्थी शक्ति, समूह तथा व्यक्तित्वहरुका बीच बलियो संयुक्त मोर्चा तथा कार्यगत एकता गरी संघर्षलाई प्रभावकारी ढंगले अगाडि बढाउनु पर्ने निष्कर्ष निकालिएको छ।
बैठकले नेपालको कृषि क्षेत्रमा विदेशी पुँजी लगानी गर्न दिने ओली सरकारको हालैको निर्णयले नेपालका आम साना किसानको जीवन निर्वाहको बाटो नै समाप्त गरिदिने र नेपाली कृषिजन्य व्यवशायलाई समेत विस्थापित गर्ने हुनाले यो निर्णय जनघाती मात्र होइन राष्ट्रघाती समेत भएको ठहर गरी त्यसको तुरुन्त खारेजीको माग गरेको छ।



लोकपाटी न्यूज

