मधेशले ओलीलाई बहिस्कार गरिसक्योः ठाकुर

mahanta-thakur
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओली संघीयता विरोधी भएको बताएका छन। आइतबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा ठाकुरले प्रम ओली समग्र संघीयताकै विरोधी भएको बताए। ‘ओलीजी शुरुदेखि नै संघयीता विरोधी हो, हामीले उहाँलाई मधेशमा बहिस्कार पनि गरेका हौं। अहिलेको सरकार नै संघीयता विरोधी छ,’ उनले भने।

उनले संविधानमै त्रुटी भएका कारण त्यसका धाराहरु प्रयोगमा ल्याउँदा सधै विवाद हुने गरेको बताए। ठाकुरले संविधानमा कस्तो त्रुटी छ भन्नेबारे नखुलाए पनि संसद विघटन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले उल्लेख गरेका संविधानका धारा विवादास्पद भएको जनाए। ‘संविधान अपूरो भयो भनेर हामीले पहिल्यैदेखि नै भन्दै आएका थियौं, संविधान बनाउने सत्ताधारीहरुले नै अहिले संविधानमाथि विवाद निकालेक छन्,’ उनले भने।

प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतप्रति पूर्ण विश्वास गर्दै पर्ख र हेरको स्थितिमा रहेको उनले बताए। यद्यपि संसद पुनस्थापना नभएर चुनावमा जानु परेपनि पार्टी तयार रहेको उल्लेख गरे। ‘हामी पर्ख र हेरको स्थितिमा छौं। अदालतप्रति पूर्ण विश्वास भएकाले अगाडिको रणनीति त्यसपछि मात्र निर्धारण गर्ने छौ,’ अध्यक्ष ठाकुरे भने, ‘तर हामी चुनावबाट भने भाग्ने छैनौं यस विषयमा पार्टीमा एकमत छ।’