जनयुद्ध महान् थिएन, कुहिएको फर्सी थियो : प्रधानमन्त्री ओली

KP-Oli-1
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान् जनयुद्ध’ फर्सी जस्तै कुहिएको टिप्पणी गरेका छन्। काठमाडौंमा आयोजित युवा संघको बृहत् कार्यकर्तामा प्रधानमन्त्री ओलीले भने, ‘महान् जनयुद्ध के भो ? फर्सी जस्तै कुहियो।’

विगतमा जातजातिमा जनता विभाजित गर्ने र पहिचानको नाममा देश टुक्रयाउने प्रयास भए पनि असफल बनाइएको ओलीले दाबी गरे। उनले संसद्को निर्वाचन हुँदा देश संकटमा नपर्ने जनाएका छन्। प्रधानमन्त्री ओलीले केही मान्छेले संसद् विघटन हुँदा देश संघटमा पर्‍यो भनेर स्यालहुइँया मच्चाएको बताए।

‘संसद्को निर्वाचन हुँदा देश संकटमा पर्छ ? संविधान संकटमा पर्छ ? स्वार्थीलाई संकट पर्छ, देशलाई होइन,’ उनले भने, ‘यति बेला लोकतन्त्र विरोधीहरू आत्तिएका छन्, त्यही भएर जे पायो त्यही बोलिरहेका छन्।’ लामो समय संवैधानिक आयोगमा पदपूर्ति हुन नदिइएको प्रधानमन्त्री ओलीले बताए। त्यसपछि अध्यादेश ल्याएर आयोगमा पदपूर्तिको प्रयास गर्नुपरेको समेत स्पष्ट पारे।

यस्तै ओलीले पूर्वप्रधानन्यायाधीशप्रति आक्रोश व्यक्त गरे। ‘न्यायालयमा एक पटक जागिर खाएको भरमा सडकबाट फैसला सुनाउन मिल्छ ?,’ उनको प्रश्न थियो, ‘एक जना वकिलले वर्तमान र भविष्य सम्झेर फैसला गर्नू भनेर धम्क्याएछन्। के भनेको त्यो ? न्यायाधीशलाई धम्क्याउने ?’

उनले अति जान्ने सुन्ने अजासु केही निस्किएर संवैधानिक इजलासले हुँदैन भनेका छन् भन्दै आक्रोश व्यक्त गरे। ‘कुन संविधानले भन्यो ?,’ उनले भने, ‘हण्डीबाट चलेका बिकाऊ व्यक्तिबाट न्यायालय प्रभावित हुँदैन। न्यायालयले संसद् पुनः स्थापना गर्दैन।’