काठमाडौं। नेपालका नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली एक नम्बरको भगौडा भएको बताएका छन्। नेता रावलले संविधानमा बजारेको अपबित्र बुटले टेकेर ओलीले सुदूरपश्चिमलाई अपवित्र बनाएको टिप्पणी गरे।
शुक्रबार धनगढी पुगेका ओलीले प्रचण्ड-माधव पक्षका नेताहरुलाई भगौडाको संज्ञा दिएका थिए। त्यसको केही घण्टापछि काठमाडौंमा आयोजित अछाम-काठमाडौं सम्पर्क समितिको कार्यक्रममा रावलले त्यसको जवाफ दिएका हुन्।
‘रअका प्रमुख सामन्तसँग अधेरी रातमा भेट्ने ओली भगौडा नम्बर एक हो। घोषणा पत्र र पार्टीबाट भाग्ने भगौडा कोही हो भने केपी ओली हो,’ रावलले भने, ‘उहाँले धनगढीमा भगौडा भन्नुभएछ। म भन्छु भगौडा केपी ओलीको पछि नलागौं।’
शयन कक्ष नजिकै बालुवाटारको अर्को भवनमा पार्टी स्थायी कमिटीको बैठक राख्दा समेत ओली नआएको उनले बताए। पार्टीले बैठक बोलाएपछि पनि तथ्यहिन आरोपहरुसहित दुई पन्ने पत्र पठाएर ओली अनुपस्थित भएको रावलले बताए।
उनले केपी ओलीका ब्यङ्ग्य उनैमाथि प्रहार हुँदा दया लाग्ने गरेको बताए। ‘आम निर्वाचनमा देउवा र टीकापुरमा एउटा सीट बाहेक सुपमा सबै हामीले जितायौं। उहाँलाई माया लागेन त्यो बेला। त्यो बेला एकजना मन्त्री नदिने, अहिले बन तस्करी गरेकाहरु, मैले नै कारवाही गरेकाहरू अघि सारेर ठूलो कुरा गर्ने?’ उनले प्रश्न गरे।
रावलले प्रधानमन्त्रीले आफूलाई नक्कली राष्ट्रवादी भनेकोमा जवाफ फर्काउँदै भने, ‘केपी ओलीको टुक्का उल्लुले मात्र पत्याउँछ।’ ‘झुटा र भ्रष्टाचारीलाई संरक्षण गर्ने कस्तो प्रम माटोले जन्माएछ। केपी ओलीलाई पार्टीले जन्माएकोमा क्षमा चाहान्छौं,’ रावलले भने।
पार्टी विभाजन गर्ने ओली भएको उनको आरोप छ। ‘जो ब्यक्ति आफ्नो पद जान लागेको भनेर रोइकराई गरिरहेको थ्यो आज पार्टी जोगाउन मन्त्री दिएको रे। माधव नेपाल र प्रचण्डको बहुमत हुँदा पनि प्रम हुन खोजेनन्,’ रावलले भने।



लोकपाटी न्यूज

