काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले संविधानका संवाकहरु नै संविधान हत्याको बाटोमा लागेका बताएका छन्।बुधबार सामाजिक सञ्जालमार्फत थापाले संवाहकहरु नै हत्याको बाटोमा लाग्दा आफूहरुले रामरामबाहेक केही भन्न नसक्ने बताएका हुन्।
उनले लेखेका छन्, ‘आफ्ना मूलभूत मान्यता नसमेटिएको कारण राप्रपाले यो संविधानको विपक्षमा मतदान गरेको हो। दुई तिहाइ बहुमतबाट पारित भएपछि प्रजातान्त्रिक मान्यता अनुरूप आलोचनात्मक समर्थन गरेका हौं। अहिले संविधानका संवाहकहरू नै संविधान हत्याको बाटोमा लागेका छन्। हामी राम! राम! भन्दा बढी केही भन्न सक्दैनौं।’
उनले प्रतिनिधिसभा विघटनको संवैधानिकता परीक्षण अदालतले गर्ने बताए। अदालतलाई दबाब वा प्रभाव पार्ने काम सरकार र सडक कतैबाट हुननहुने उनले भनाइ छ। उनले भनेका छन्, ‘संसद् विघटनको संवैधानिकताको परीक्षण अदालतले गर्नेछ।अदालतलाई दबाब, प्रभाव पार्ने काम सरकार, सडक कतैबाट हुनुहुन्न।’
गत निर्वाचनमा जनताले स्थिर सरकारकालागि नेकपालाई स्पष्ट बहुमत दिएको तर, नेकपाले धोखा दिएको उनले बताए। ‘गत निर्वाचनमा जनताले स्थिर सरकारकोनिमित्त नेकपालाई स्पष्ट बहुमत दिएका हुन्। जनताको यो म्याण्डेटलाई नेकपाले धोखा दियो। यो अवस्थामा ताजा जनादेशमा जानु लोकतान्त्रिक र संवैधानिक मान्यता हो,’ थापाले लेखेका छन्।
जनताले कुनै पार्टीलाई स्पष्ट बहुमत नदिएको अवस्थामा गठवन्धन सरकार स्वभाविक भएको तर, एक पार्टीले स्पष्ट बहुमत पाएको अवस्थामा पार्टी फुटाएर, सांसद किनबेच गरेर, अपवित्र गठवन्धन बनाएर सरकार बनाउने कार्य संविधानको आशय नभएको उनको जिकिर छ। अध्यक्ष थापाले कानुनीरूपमा नेकपा अझै नफुटेको बताउँदै ताजा जनादेश प्राप्त नगरी नेपाली कांग्रेसले सरकार बनाउने लोभ गर्नु अनैतिक र अप्रजातान्त्रिक हुने दाबी गरे।



लोकपाटी न्यूज

