ओली नै नेकपा होः ईश्वर पोखरेल

ishwor-pokhrel pic
लोकपाटी न्यूज

सिन्धुली। उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा र सूर्य चिह्न प्रधानमन्त्री केपी ओलीकै पक्षमा हुने ठोकुवा गरेका छन्। कानुनी रूपमा नेकपा विभाजन भइनसकेकाले प्रथम अध्यक्ष जहाँ हो, नेकपा र सूर्य त्यहीँ रहने उनले दाबी गरे।

बुधबार रातमाटामा आयोजित अगुवा कार्यकर्ता भेलामा उपप्रधानमन्त्री पोखरेलले वैशाखमा चुनाव हुनेमा शंका नगर्न पनि आग्रह गरे। प्रधानमन्त्रीले ताजा जनादेश लिन निर्वाचन मिति घोषणा गरी सुरक्षा निकाय र निर्वाचन आयोगसँगसमेत छलफल गरिसकेको उनले बताए।

‘निर्वाचन हुन्छ, सबै लागौं, मतभेदका जे-जे कुरा छन्, त्यो सबै निर्वाचनको परिणामले मिलाउँछ,’ पोखरेलले भने, ‘निर्वाचनबाट भाग्ने कुरै छैन।’ ताजा जनादेशका लागि प्रधानमन्त्रीले सर्वोच्चलाई जवाफ दिइसकेकाले अदालत ‘दायाँबायाँ’ नहुने पनि उनले बताए।

नेकपा विभाजनमा कात्तिक २८ गतेको पुष्पकमल दाहालको आरोपपत्र नै मुख्य कारण भएको पोखरेलको भनाइ छ। पार्टी एकता टुट्दा सबैभन्दा घाटा तपाईंलाई नै हुने भन्दै आफूले प्रचण्डसँग कुरा गरेको पनि पोखरेलले बताए।