पार्टी कार्यदिशा जनताको जनवाद हो, जबजको उल्टो बाटो हिँड्न सकिन्नँ : योगेश भट्टराई

Yogesh Bhattarai-5
लोकपाटी न्यूज

काठमाडौँ। नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरले राजनीतिक परिस्थितिलाई मोड्न जनताको बहुदलीय जनवादको कुरा उठाएको बताएका छन्।

पार्टीको केन्द्रीय संघर्ष समितिको सह–संयोजक तथा प्रवक्ता समेत रहेका भट्टराईले मंगलबार बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले केपी शर्मा ओली पक्षधरले पूर्व एमाले तथा जनताको बहुदलीय जनवादलाई एकीकृत गर्ने कुरा वर्तमान राजनीतिक परिस्थितिलाई मोड्नको निम्ति मात्रै भएको बताएका हुन्। प्रधानमन्त्रीले संविधानको उल्लंघन गरी आफ्नो कमजोरी ढाकछोप गर्न पूर्वएमालेको छाता ओढाइएको उनको भनाइ छ।

पूर्वएमाले अथवा पूर्वमाओवादी भनि एक ठाउँमा आउँदा मुलुक २०६२/०६३ को आन्दोलन अगाडिको अवस्थामा पुगी देश द्वन्दमा जाने उनले बताए। पूर्वएमाले र पूर्वमाओवादी भन्नु समाजलाई पछि धकेल्ने कुरा भएको उनको भनाइ छ। २०७५ जेठ ३ गते दुवै पार्टी विधिवत रुपमा विघटन भएको र अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल दाहालले हस्ताक्षर गरी एकीकृत केन्द्रीय कमिटीले अनुमोदन गरेकाले पछाडी फर्किन नसकिने उनले बताए।

स्थायी कमिटी सदस्य भट्टराईले जनताको बहुदलीय जनवाद र २१औं शताब्दीको जनवादलाई परिमार्जन गर्दै समाजवादउन्मुख जनताको जनवादलाई कार्यक्रम बनाइएको स्मरण गर्दै यसमा नअल्मल्लिन आग्रह गरे। यतिखेर देशमा प्रतिगमन र अग्रगमनबीचको अन्तरविरोध भएको र प्रधानमन्त्री ओली प्रतिगमन तथा प्रतिक्रान्तिको कित्तामा उभिएको भट्टराईको भनाइ छ।

‘‘अहिले जबजको कुरा उठाइएको छ। जबकि दुई अध्यक्षबीच भएको पाँचबुदे सहमतिको पहिलो बुँदामै समाजवादउन्मुख जनता जनवादका रूपमा अगाडि बढाइने भन्ने छ’’ भट्टराईले भने, ‘‘अहिलेको नेकपाको आधिकारिकता नै यो हो। त्यो नमान्ने हो भने पार्टी एकता नै गलत हो भन्नुपर्‍यो।’’

उनले थपे, ‘‘त्यस्तै तत्कालीन माओवादीमाथि उति बेला भएको कुरो अहिले उठाइँदै छ। कति कुरा निरुपण भइसके कति बाँकी छन्। अहिले त्यस्ता विषय उठाउँदा त्यसले संविधान सकिन्छ। लोकतन्त्र धरापमा पर्छ। अब त्यतातर्फ जानु भनेको गलत हो। ओली प्रतिगमन, संविधानविरोधी र गणतन्त्रविरोधी भएर निस्किएका छन्। हामी अहिले यो अवस्था सच्याउनतर्फ लागेका छौं।’’

‘‘संविधान रक्षाका लागि कानुनी राजनीतिक लगायतका लडाइँमा छौं। अहिले प्रदेशसभा विघटन गर्ने र संकटकाल लगाउने कुरा भइरहेका छन्। त्यसलाई ज्ञानेन्द्र शाहको शाही कदमको पुनरावृत्ति हुने संकेतका रूपमा बुझ्नुपर्छ’’ उनले भने, ‘‘हामीले अहिले जारी राखेको आन्दोलन नेकपाले मात्रै सुरु गरेको होइन, सबैको आन्दोलनका रूपमा बुझ्नुपर्छ। सबै शक्ति केन्द्रहरुलाई छिटो समावेश गरेर संयुक्त आन्दोलनमा जाने कुरा भइरहेको छ।’’

भट्टराईले नेकपा एकताताका लिइएको घोषित नीतिमै अघि बढ्ने स्पष्ट पारे। प्रधानमन्त्रीले प्रतिनिधि सभा बिघटन गर्नु असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम भएको भन्दै संघर्षकै बलमा त्यसलाई उल्टाइने दावी गरेका छन्।