काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल पक्षले प्रदेश २ को संसदीय दलका नेता सत्यनारायण मण्डल पदबाट हटाएको छ। साथै संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गरेको छ।
मंगलबार जनकपुरमा बसेको नेकपा संसदीय दलको बैठकले मण्डललाई हटाएर महतोलाई चयन गरेको हो। बैठकले मण्डलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव बहुमतले पारित गरेको हो।
‘बहुमत सदस्यले अविश्वास प्रस्ताव पारित गर्यो,’ दलको नेता चयन भएका महतोले भने, ‘बैठकले निर्वाचन समिति बनायो। निर्वाचन समितिले आफ्नो तालिका निकाल्यो। त्यो निकालिसकेपछि एकमात्र उम्मेदवारी पर्यो अनि सर्वसम्मत निर्णय भयो।’
प्रदेशसभामा नेकपाका ३२ सदस्यमध्ये १९ जनाले मण्डलविरूद्ध अविश्वास प्रस्तावमार्फत् संसदीय दलका नेताबाट हटाएका हुन्। मण्डलविरुद्ध विरुद्ध उपनेता रामकुमार यादव समक्ष गत बुधबार अविश्वासको प्रस्ताव दर्ता भएको थियो। बैठकमा सहभागी नभएपछि बहुमतले अविश्वास प्रस्ताव पारित गरिएको संसदीय दलकी सचेतक बेची लुंगेलीले जानकारी दिइन्।
उनले मंगलबार सभामुख सरोज कुमार यादवलाई नयाँ संसदीय दलको नेता चयन भएकोबारे जानकारी गराइसकेको बताइन्। नेकपा विभाजनसंगै संसदमा प्रमुख प्रतिपक्षी दलको हैसियत गुमाएको छ।



लोकपाटी न्यूज

