ओलीले पञ्चभेला गरिरहेका छन्, उनी समाप्तिको बाटोमा छन् : योगेश भट्टराई

लोकपाटी न्यूज

काठमाडौं। नेकपाका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्तिप्रति आपत्ति जनाउका छन्। सोमबार चितवनमा आयोजित कार्यकर्ता भेलामा भट्टराईले प्रधानमन्त्री ओलीबाट अशिष्टता प्रदर्शन हुन थालेको बताएका हुन्। प्रधानमन्त्री ओलीले अशिष्टता, गालीगलौज र अमानवीयता सिकाइरहेको उनको आरोप छ।

‘केपी ओली होसमा त हुनुहुन्छ? सन्तुलनमा त हुनुहुन्छ? मैले प्रधानमन्त्रीले मानसिक सन्तुलन गुमाउनुभयो भनेर भनेको छैन। मैले मेरो प्रधानमन्त्रीमा पागलपन सवार भयो भनेको पनि छैन। तर हिजो (आइतबार) उहाँले जुन भाषण गर्नुभयो, जे शब्द प्रयोग गर्नुभयो, त्यो अति भयो।’ उनले भने। चितवनमा आयोजित कार्यकर्ता भेलालाई भट्टराईले गरेको सम्बोधनको छोटो अंशः

केपी ओलीलाई भन्न चाहन्छु। तपाईं यो खालको अवस्थाबाट फर्किनुहोस्, अति भयो। हामी सबैलाई थाहा छ। नेता भनेको देशको शिक्षक हो। प्रधानमन्त्री त हेड सर नै हो। प्रधानाध्यापक नै हो। आज त्यो हेडसरले के पढाउँदै छ त ? हाम्रो प्रधानमन्त्रीले यो मुलुकलाई के पढाउँदै हुनुहुन्छ। अशिष्टता, गालीगलौज, भण्डाफोर, अमानवीयता, निकृष्टता हामी कस्तो समाज बनाउँदै छौं। कस्तो समाज बनाउन खोज्दै हुनुहुन्छ।

कम्युनिस्टले सभ्य समाज बनाउँछ। मार्क्सले भन्नुभयो- हजार विचारहरूलाई पनि तिमी चलखेल गर्न देऊ। माओत्से तुङले भन्नुभयो- सयौं फूलहरूलाई फुल्न देऊ। आज हाम्रो प्रधानमन्त्री भन्दै हुनुहुन्छ- फुलहरूलाई फुल्न दिने हैन। उहाँ त्यसलाई कोपिलामै चुँडिरहनुभएको छ।

कतिपय व्यक्तिहरूले व्यवस्था बाहिरबाट, संविधान बाहिरबाट, कानुन बाहिरबाट राज्य, व्यवस्था र संविधानमाथि आक्रमण गर्छन्। त्यसतालाई कतिपयले आतंकवादी भन्छन्। आज प्रधानमन्त्री ओली पनि स्वयं व्यवस्थाभित्र बसेर संविधानको निर्लज्जता साथ खिल्ली उडाइरहनु भएको छ। व्यवस्थाको भण्डाफोर गरिरहुन् भएको छ। यो प्रणालीलाई ध्वस्त बनाइरहुन् भएको छ। अब जनताले भन्ने छन् सिंहदरबार र बालुवाटारमा बसेर आतंकवाद छोड्नुहोस्। आतंक मचाइरहनु भएको छ।

म यसो भनेर उत्साहको अपेक्षा गर्दैन। तर म दुखी छु। म आत्म आलोचित छु। हामीले कस्तो प्रधानमन्त्री बनायौं। हामी कस्ता कार्यकर्ता छौं ? हामी कस्ता सदस्य रहेछौं ? नेता छान्न पनि नजान्ने। सायद मैले मेरै विवेकमाथि, मेरै छनोटमाथि प्रश्न गरिरहेको छु। गर्नुपर्ने पनि हुन्छ आज कि मुलुकले दुर्भाग्यपूर्ण अवस्था बेहोर्दै छ।

मैले सुनेको थिए। ज्ञानेन्द्र शाहीको सरकारको बेला उनी धूमधामका साथ देश भ्रमणमा निस्के रे। बागलुङमा पञ्चेबाजा बजाएर मालाले स्वागत गरिरहेका थिए ज्ञानेन्द्र शाहलाई। एक जना सेतो लुगा लगाएको महिला आइन्। उनको श्रीमान् भर्खरै विदेशमा बितेका थिए। उनले दुखका साथ भनिन। हजुर मेरो विदेशमा बितेका छन्। दुख पाए हजुर। बाच्ने आधार छैन हजुर। ज्ञानेन्द्र शाह पञ्चेबाजाको धुनमा मुन्टो हलाइ रहेका थिए। ठिक छ ठिक छ भनेर।

आज कतै हाम्रा प्रधानमन्त्री आई एम विथ केपी ओली, आई एम विथ केपी ओली भन्ने पञ्चेबाजाको धुनमा त्यस्तै मस्त मुन्टो हल्लाउँदै हुनुहुन्छ। मुलुक ठिक छ, ठिक छ। मुलुक ठिक छ भनेर। म भन्न चाहन्छु- मुलुक ठिक छैन। त्यति बेला पनि बागलुङमा पर कुनै कुनाबाट कसैले मुलुक ठिक छैन महाराज भनेर भनेका थिए। तर महाराजले त्यो सुनिबक्स्योन। जुन दिन महाराजले सुनिबक्स्यो। त्यो दिन महाराजले नारायणहिटी दरबार छोड्ने दिन भइसकेको थियो।

मलाई विश्वास छ केपी कमरेडले पनि कुनै दिन त्यो सुन्नु हुन्छ। जुन दिन सुन्नुहोला त्यो दिन बालुवाटारबाट निस्कने दिन हुनेछ।