सरकारविरुद्ध सशक्त विरोध गर्न तरूण दलको निर्देशन

Jitjung_Basnet
लोकपाटी न्यूज

काठमाडौं। नेपाल तरुण दलले सरकारविरुद्धको प्रदर्शनलाई प्रभावकारी र सशक्त बनाउन मातहतका जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ। तरूण दलका अध्यक्ष जितजंग बस्नेतले सोमबार जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै कांग्रेसले घोषणा गरेका प्रदर्शनलाई थप प्रभावकारी र शशक्त बनाउन निर्देशन दिएका छन्।

नेपाली कांग्रेसले संसद विघटनको विरोधमा वडा तहसम्मै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। यही पुस २५ गतेदेखि माघ ८ गतेसम्म हुने ती आन्दोलनका कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउन नेपाल तरुण दलले सबै तह र तप्कालाई निर्देशन दिएको हो।

‘विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउनका लागि तरूण दलको जिल्ला समितिले जिल्ला पार्टीसँग समन्वय गरी सबै तह, तप्का र निकायका तरुणलाई सक्रिय रुपले सहभागी गर्न र गराउन नेपाल तरुण दल केन्द्रिय समिति यसै परिपत्र मार्फत निर्देशन गर्दछ,’ अध्यक्ष बस्नेतले पठाएको परिपत्रमा उल्लेख छ।

आगामी पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन र सभा आयोजना गर्ने, माघ ३ गते देशैभरका ७५३ पालिकाहरुमा विरोध प्रदर्शन र सभा गर्ने तथा माघ ८ गते देशैभरका ६ हजार ७४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभा आयोजना गर्ने नेपाल तरुण दलले जनाएको छ।

सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम, व्याप्त भ्रष्टाचार, कोभिड-१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता तथा कुशासनको विरुद्धमा विरोध प्रदर्शन गर्न लागिएको तरुण दल अध्यक्ष बस्नेतले बताए।