काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको स्थायी समिति बैठक सुरु भएको छ। अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पेरिसडाँडामा बैठक बसेको हो।
आइतबारदेखि सुरु भएको स्थायी कमिटी बैठक आजै सोमबार सकिने जनाइएको छ। स्थायी समिति सदस्य बेदुराम भुसालका अनुसार आइतबारको बैठकले स्थायी समितिमा पाँचवटा कार्यसूची पेस गरिएको थियो। तिनैमा आधारित भएर आजको छलफल अघि बढाइने उनले जानकारी दिए। आइतबार बैठकमा विभिन्न विषय समेटिएको प्रस्ताव पेस गरिएको र अनुमोदन पनि गरिसकिएको उनको भनाइ थियो।
हिजै प्रदेश, जिल्ला र जबस मोर्चा (जनसंगठनहरू) को एकताका लागि पार्टी अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदलसमेत बनेको छ। त्यसले एकताका बाँकी कामहरू सक्ने उनले बताए। आजको बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध तयार पारिएको संघर्षका कार्यक्रम अनुमोदनका लागि पेस गरिने र सुझावहरू आएर समेटेर अनुमोदन गरिने भुसालको भनाइ छ। शनिबार पत्रकार सम्मेलन गरेर प्रचण्ड-नेपाल पक्षले संघर्षका थप कार्यक्रम घोषणा गरेका थिए
त्यस्तै स्थायी कमिटी बैठकमा केपी ओली समूहको विभाजनकारी क्रियाकलापबारे पनि छलफल गर्ने कार्यसूची छ। पार्टी विभाजनपछि ओली समूहले तलतल कस्तो क्रियाकलाप गरिरहेको छ, त्यसको रिपोर्टिङ गर्ने र त्यसआधारमा निष्कर्षमा पुगिने भुसालले बताए। जारी बैठकले पनि प्रदेशसभा र सरकारबारे आवश्यक निर्णय लिनेछ। पार्टी विभाजनपछि प्रचण्ड-नेपाल समूहले प्रदेश नम्बर १ र वागमतीमा अविश्वासको प्रस्ताव दर्ता गराएको छ।
विविध प्रस्तावअन्तर्गत कामचलाउ भइसकेपछि सरकारका गरेका गलत क्रियाकलापबारे विरोध र संघर्षको तयारी गर्ने कार्यसूची राखिएको छ। त्यस्तै चालु बैठकले पार्टीको कोष तथा आर्थिक व्यवस्थापनको पाटोमा पनि निर्णय लिने भुसालले जानकारी दिए। पार्टी विभाजनपछि प्रदेश र जिल्ला तहमा पार्टी कार्यालय कब्जा र कोष झिक्ने काम भइरहेकाले त्यसलाई रोक्न पनि बैठकले आवश्यक निर्णय लिने भुसाल बताउँछन्।



लोकपाटी न्यूज

