काठमाडौं। नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्नेमा विश्वास व्यक्त गरेका छन्। संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिएकोले प्रतिनिधिसभा पुनस्थापना हुनेमा काँग्रेस विश्वस्त रहेको उनले बताए। संविधानत प्रधानमन्त्री केपी शर्मा ओलीको कदम उपयुक्त भन्ने आधार नभएको पनि उनले बताए।
उनले भनेका छन्, ‘हामीले यसलाई गैरसंवैधानिक भनेका छौं। संविधानभित्रबाट न्यायाधीशहरूले फैसला दिनुहुन्छ भन्नेमा नेपाली काँग्रेस विश्वस्त छ। काँग्रेस विश्वास गर्छ, संविधान बाहिर गएर विवेक प्रयोग गरेर न्यायाधीशहरूले निर्णय गर्नुहुन्न, उहाँहरूले संविधानमा जे छ त्यहीँबाट निर्णय दिनुहुन्छ। संविधानभित्रबाट निर्णय दिँदा प्रधानमन्त्री ओलीको कदमलाई उपयुक्त भन्ने कुनै आधार र ठाउँ देख्दिनँ।’
सिटौलाले एक अन्तर्वार्तामा भनेका छन्, ‘न्यायाधीशहरुले संविधानभित्रबाट निर्णय दिने हो। उहाँहरूले पनि आफ्नो स्वविवेक प्रयोग गर्ने होइन। संविधानको कार्यदिशा के हो ? मूल मर्म र भावना के हो ? त्यसमा आधारित भएर उहाँहरूले निर्णय लिनुपर्छ। यो संविधानभित्र जे छ, त्यसका आधारमा निर्णय लिनुपर्छ। यो संविधानभित्र बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार छ भनेर लेखेको भए त्यही दिए भयो। तर, त्यो त लेखेको छैन।’
उनले प्रधानमन्त्रीको असंवैधानिक कदमको विरुद्धमा नेपाली काँग्रेस घनिभूत रूपमा आन्दोलनमा जाने बताए। काँग्रेस अब आन्दोलनमा केन्द्रित हुन्छ कि अल्मलिएरै बस्छ ? भन्ने प्रश्नमा सिटौलाले भनेका छन्, ‘यस्तो कदम आएको मितिदेखि नै हामीले नीतिगतरुपमा आन्दोलनमा जाने निर्णय गरिसकेका थियौं। त्यसलाई कार्ययोजनाका साथ अगाडि बढाउन केही समय लागेको मात्र हो। विगतमा केही प्रदर्शन भएका छन्। तर, अब घनिभूत रूपमा हाम्रा आन्दोलनका कार्यक्रम जान्छन्।’



लोकपाटी न्यूज

