काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको स्थायी समिति बैठक आज बस्दैछ। बैठक दिउँसो १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकको अध्यक्षतामा माधवकुमार नेपालले गर्ने छन्।
पत्नी सीता दाहालको उपचार गर्न मुम्बई जाने भएकाले अध्यक्ष प्रचण्ड भने आजको बैठकमा सहभागी हुने छैनन्। सोमबारको बैठकमा सांगठनिकलगायतका विषयलाई अन्तिम रुप दिन गठन हुने कार्यदल सदस्यहरुको बारेमा छलफल हुने बताइएको छ।
पार्टी विभाजनपछि नेकपाको यो तेस्रो स्थायी समिति बैठक हो। स्थायी समिति सदस्य बेदुराम भुसालका अनुसार आइतबारको बैठकले स्थायी समितिमा पाँचवटा कार्यसूची पेस गरिएको थियो। तिनैमा आधारित भएर आजको छलफल अघि बढाइने उनले जानकारी दिए। आइतबार बैठकमा विभिन्न विषय समेटिएको प्रस्ताव पेस गरिएको र अनुमोदन पनि गरिसकिएको उनको भनाइ थियो।
हिजै प्रदेश, जिल्ला र जबस मोर्चा (जनसंगठनहरू) को एकताका लागि पार्टी अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदलसमेत बनेको छ। त्यसले एकताका बाँकी कामहरू सक्ने उनले बताए। आजको बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध तयार पारिएको संघर्षका कार्यक्रम अनुमोदनका लागि पेस गरिने र सुझावहरू आएर समेटेर अनुमोदन गरिने भुसालको भनाइ छ। शनिबार पत्रकार सम्मेलन गरेर प्रचण्ड-नेपाल पक्षले संघर्षका थप कार्यक्रम घोषणा गरेका थिए
त्यस्तै स्थायी कमिटी बैठकमा केपी ओली समूहको विभाजनकारी क्रियाकलापबारे पनि छलफल गर्ने कार्यसूची छ। पार्टी विभाजनपछि ओली समूहले तलतल कस्तो क्रियाकलाप गरिरहेको छ, त्यसको रिपोर्टिङ गर्ने र त्यसआधारमा निष्कर्षमा पुगिने भुसालले बताए। जारी बैठकले पनि प्रदेशसभा र सरकारबारे आवश्यक निर्णय लिनेछ। पार्टी विभाजनपछि प्रचण्ड-नेपाल समूहले प्रदेश नम्बर १ र वागमतीमा अविश्वासको प्रस्ताव दर्ता गराएको छ।
विविध प्रस्तावअन्तर्गत कामचलाउ भइसकेपछि सरकारका गरेका गलत क्रियाकलापबारे विरोध र संघर्षको तयारी गर्ने कार्यसूची राखिएको छ। त्यस्तै चालु बैठकले पार्टीको कोष तथा आर्थिक व्यवस्थापनको पाटोमा पनि निर्णय लिने भुसालले जानकारी दिए। पार्टी विभाजनपछि प्रदेश र जिल्ला तहमा पार्टी कार्यालय कब्जा र कोष झिक्ने काम भइरहेकाले त्यसलाई रोक्न पनि बैठकले आवश्यक निर्णय लिने भुसाल बताउँछन्।
आइतबारको बैठकमा अध्यक्ष माधव कुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गर्ने प्रस्ताव पेस भएको थियो। सो कार्यदलले बढीमा पाँच दिनभित्र प्रस्ताव तयार पार्ने बताइएको छ। ‘कार्यदलमा रहने सदस्यलगायत अन्य विषयमा भने आज बस्ने बैठकले आवश्यक निर्णय गर्ने भनिएको छ,’ एक जना स्थायी कमिटी सदस्यले भने।
आइतबार बसेको बसेको स्थायी कमिटीको बैठकले सांगठनिक विषय, नेताहरुको कार्यविभाजन लगायतका विषय टुंगो लगाउन कार्यदल बनाउन प्रस्ताव गरिएको थियो। प्रवक्ता श्रेष्ठले पार्टीको सम्पूर्ण तहको कार्यविभाजन तथा जिम्मेवारीलगायत विषयलाई अन्तिम रुप दिन कार्यदल प्रस्ताव गरिएको जानकारी दिए। चालु बैठकको माइनटिङ पाण्डेले गरिरहेको भुसालले जानकारी दिए।



लोकपाटी न्यूज

