नेकपाको सिंगो हुम्ला जिल्ला कमिटी प्रचण्ड-नेपाल पक्षमा

Prachanda_Nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा हुम्ला जिल्ला समितिले आफू प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपामा संलग्न रहने जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा अघोषित रूपमा विभाजन भएको छ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ मा दलले आफ्नो नाम, विधान, नियम, छाप, झन्डा वा चिह्नमा भएको परिवर्तन, संशोधन वा पदाधिकारीको हेरफेरको जानकारी आयोगलाई गराउनुपर्ने व्यवस्था छ। अघोषित विभाजनपछि औपचारिकताका लागि नेकपाको विवाद निर्वाचन आयोगमा पुगेको छ।

अहिले पार्टीका केन्द्र देखि स्थानीय तहसम्मका समितिहरू विभाजित भएका छन्। सोही सन्दर्भमा नेकपा हुम्ला जिल्ला समितिले आफू प्रचण्ड-नेपाल पक्षमा संलग्न रहेको एक विज्ञप्ति जारी गरेर स्पष्ट पारेको हो। २८ सदस्यीय जिल्ला समितिद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री ओलीको कदमले आम नेता कार्यकर्ता र जनता निराश बनेको उल्लेख छ।

हुम्ली जनता र आम नेता कार्यकर्ताको मनोभावना अनुसार जिल्ला समिति प्रचण्ड-नेपाल पक्षमा रहने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ। साथै कर्णाली प्रदेश र हुम्ला जिल्लाको विकास र समृद्धिको उद्देश्य पूरा गर्न पार्टीको एकता र प्रदेश सरकारको स्थायित्व नै आफ्नो प्रमुख मुद्दा रहेको पनि विज्ञप्तिमा भनिएको छ। फरक धारमा रहेका नेता कार्यकर्ताहरूलाई पनि प्रचण्ड-नेपाल नेतृत्वको नेकपामा समाहित हुन अपिल समेत गरिएको छ।