काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा तोकिएकै समयमा चुनाव हुने बताएका छन्। काठमाडौंमा ओली समूह निकट अनेरास्ववियूको कार्यकर्ता भेलामा उनले विघटन भइसकेको संसद नब्युँतिने र वैशाखमा निर्वाचन हुने बताएका हुन्।
ओलीले केही शक्तिहरूले चुनाव हुँदैन भनेर भ्रम फैलाउन खोजेको आरोप पनि लगाए। ‘पार्टीका केही नेताले सरकारको आचोचना र बदनाम गर्न विगुलमात्रै फुकिरहे। जसले गर्दा अहिलेको स्थिति सिर्जना भयो,’ उनले भने, ‘चुनाव हुँदैन भनेर कतिपयले भ्रम सिर्जना गरेका छन्। ढुक्क हुनुस् वैशाखमा तोकिएकै समयमै चुनाव हुन्छ।’
पिलो निचोरिँदैमा ओजन नघट्ने बताउँदै प्रधानमन्त्री ओलीले सरकारविरद्ध फैलाइएको दुर्गन्धमा आफूले अत्तर छर्कने पनि बताए। आफूले प्रचण्ड-नेपाल पक्षका नेताहरुलाई पटक पटक बैठकमा आउन आग्रह गरेको उल्लेख गर्दै उनले अहिले पनि आफूले सय खत माफ दिने बताए। ओलीले भने, ‘तपाईँहरुका सबै गल्तीहरु हामी माफ गर्छौँ, सय खत माफ, हामीसँगै आउनुस्।’
आफूले अझै पनि एकसाथ अघि बढ्न चाहेको उनले बताए। ओलीले अगाडि भनेका छन्, ‘आउनुस्‚ कुर्सी यथावत् राखिएको छ। आउनु भएन भने पनि यो अभियान अघि बढ्छ। पिलो निचोरिँदैमा ओजन घटेको हुँदैन। अझ मजबुत भएर आन्दोलन अघि बढ्छ।’ अब सुखी नेपाली र समृद्ध नेपालको यात्रा नरोकिने उनले बताए।



लोकपाटी न्यूज

