जिन्दगीभरको मिहिनेतमा ओलीले आगो लगाइदिएः डा. भट्टराई

Baburam_Bhattarai
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाभित्रको विवादले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घरमा आगो लागेको टिप्पणी गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत भट्टराईले नेकपाको आपसी झगडाले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै आगो लागेको टिप्पणी गरेका हुन्।

पार्टीको आन्तरिक विवादका माझ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेका थिए। पार्टीको आन्तरिक विवादमा पराजय उन्मुख भएपछि प्रधानमन्त्री ओलीले संसद् विघटनको निर्णय लिएका थिए। सोही विषयतर्फ लक्षित गरेर भट्टराईले यस्तो टिप्पणी गरेका हुन्। यसअघि पनि नेता भट्टराईले संवैधानिक व्यवस्थामाथि ओलीले खड्ग प्रहार गरेको भन्दै कडा आलोचना गरेका थिए।

प्रधानमन्त्री ओलीले संसद् विघटन गरी वैशाख १७ र २७ गते मध्यावती चुनावको मिति घोषणा गरेपछि डा.भट्टराई गणतन्त्रको बेला बयलगाडामा अमेरिका पुगिँदैन भन्ने ओलीले अहिले चुनाव गराउन घोषणा गरेका होइनन् भन्दै कडा टिप्पणी गरेका थिए। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गर्नुलाई उनले ‘आगो लगाएको’ रूपमा उल्लेख गरेका हुन।

‘एक आर्किटेक्टको अनुभूति/जिन्दगी भरको मिहिनेतले संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइयो। सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो,’ उनले ट्वीटमा लेखेका छन्, ‘केही कुपुत्र/कुपुत्रीले ठुलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए। केही सन्तान आगो निभाउनु सट्टा खरानीको लागि दौडिँदै छन्। छिमेकी रमिते। लौन आगो निभाऊँ।’