अर्घाखाँची। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले आफ्नै पार्टीभित्रबाटै वर्तमान सरकार ढालेर देशमा फेरि अस्थिरता र अराजकता निम्त्याउने प्रयास भएको बताएका छन्। आफ्नै पार्टीका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई असफल बनाउन लागिपरेको समेत रायमाझीको भनाई छ।
त्यसका लागि सरकारबाहिर रहेका दलसँग गुहार मागिएको उनको दाबी छ। आइतबार सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा रायमाझीले भने, ‘सेनापतिसँग निहुँ खोजेर आफ्नै सरकार ढाल्नुभयो, उहाँलाई सरकार ढाल्ने बानी परेको छ।’ पार्टी अध्यक्ष हुन दुई/चार महिना महाधिवेशन पर्खन नसक्ने, प्रधानमन्त्री हुन निर्वाचन कुर्न नसक्ने नेताहरुको महत्त्वाकांक्षाकै कारण पार्टी विभाजन भएको रायमाझीको तर्क छ।
‘उहाँहरू पदका लोभी हुनुहुँदो रहेछ, उहाँहरुकै कारण संसद् विघटन भयो, प्रमुख दोषी उहाँहरू हो,’ प्रचण्ड-नेपालतिर लक्षित गर्दै उनले भने। काम गर्न नदिइएपछि ओलीले ताजा जनादेशमा जान निर्वाचनको मिति तोकेको रायमाझीले बताए। राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि संसद् विघटन गरिएको उनको भनाई छ।



लोकपाटी न्यूज

