अभिभावक र विद्यालयको भूमिका कस्तो हुनुपर्छ ?

Abhishek Ghimire
लोकपाटी न्यूज
अभिषेक घिमिरे
मारिया मन्टेस्वरी भन्छिन्, ‘हरेक बालबालिकाको जन्म एक अद्भूत क्षमतासहित भएको हुन्छ । जब त्यो क्षमताले उपयुक्त वातावरण पाउँछ, तब एटम बम जसरी बिष्फोट भएर निस्किन्छ ।’
प्रत्येक बालबालिकाभित्र हुने अद्भुत क्षमतालाई उनले ‘इनर सेल्फ’ भनेकी छिन् । अर्थात्, हरेक बालबालिकासंग प्राकृतिक रुपमा नै सिक्ने तत्परता हुन्छ । बालबालिकाभित्र हुने जिज्ञासा, कौतुहलता तथा सिक्ने तत्परताले सिकाइको वातावरण प्राप्त गर्न सके बालबालिकाभित्र रहेको अद्भुत क्षमताका कारण उनीहरुमा अकल्पनीय परिवर्तन आउन सक्ने मारिया मन्टेस्वरीको विश्वास छ ।
अल्बर्ट आइन्स्टाइनले भनेका छन्, ‘म मेरा विद्यार्थीलाई पढ्न कहिले पनि दवाब दिन्न, बरू उन्नीहरुलाई सिक्ने वातावरणको निर्माण गरिदिन्छु ।’
मन्टेस्वरीले जस्तै आइन्स्टाइनले पनि सिकाइको वातावरणको कुरा गरेका छन् । अर्थात, उपयुक्त वातावरणको निर्माण नै सिकाइको महत्वपूर्ण कम्पोनेण्ट हो भन्ने कुरामा दुवै सहमत देखिन्छन् ।
आधुनिक शिक्षाशास्त्री जोन डिवेले भनेका छन्, ‘बालबालिकालाई कुनै कुरा पढ्न भन्दा पनि केही काम गर्न दिनु भयो भने अझ बढी ध्यान पुर्याएर, सोच विचार गरेर, तल्लीन भएर गर्नेछन् ।’ पुस्तकमा सोझै पढेको भन्दा पनि व्यवहारिक रुपमै प्रयोग गरेर सिकेको ज्ञान गहन र सार्थक हुन्छ भन्ने आसय जोन डिवेको देखिन्छ । जोन डिवेको भनाइसंग मारिया मोण्टेस्वरीको बालबालिकाले आफैं गरेर सिक्छन भन्ने ‘सेल्फ करेक्सन’ को सिद्धान्त पनि मेल खान्छ । बालबालिका कुनै खेल वा काममा तल्लीन भएर लागे भने उक्त खेल वा कार्यमा आइपर्ने हरेक समस्याको समाधान उनीहरु आफैंले निकाल्नेछन् । बालबालिकाले बहुआयामिक दृष्टिकोणबाट समस्यालाई हेर्नेछन् र त्यसको उपयुक्त समाधान पनि निकाल्नेछन् ।
एउटा भनाइ छ, ‘बालबालिकाले खेलेर सिकेको ज्ञान, एउटा वयस्कले विश्वविध्यालयमा सिकेको ज्ञानभन्दा बढी फराकीलो र दीर्घकालीन रहन्छ ।’ मन्टेस्वरीको ‘इनर सेल्फ’, ‘सेल्फ करेक्सन’ र जोन डिवेको सिद्धान्तसँग पनि उक्त भनाइ मेल खान्छ ।
बेन्जामिन फ्र्यांकलिन भन्छन्, ‘Tell me and I forget, Teach me and I remember, Involve me and I learn.’ (टेल मि एण्ड आई फर्गेट, टिच मि एण्ड आई रिमेम्बर, इन्भल्व मि एण्ड आई लर्न) । अर्थात भनिएको कुरा बिर्सन सकिन्छ, सिकाएको कुरा सम्झन सकिन्छ, तर आफैं सहभागी भएको कुरा सहजै सिक्न सकिन्छ । र यो सिकाइ दीर्घकालीन रहन्छ । रुसोको ‘प्रकृति तर्फ फर्क’, फ्रेडरिक फ्रोबेलको ‘किण्डर गार्डन’, वाल्डर्फ स्टेनरको ‘मड वर्क’ जस्ता प्रयोग र सिद्धान्तले सिकाइमा वातावरण र विद्यार्थीको प्रयोगात्मक संलग्नतालाई नै जोड दिएको पाइन्छ।

माथिका सबैको भनाइको सारलाई केलाउने हो भने प्रभावकारी सिकाइको निम्ति बालबालिकाभित्र निहीत रहेको क्षमतालाई बुझेर, सिकाइका निम्ति उपयुक्त वातावारणको निर्माण गरेर बालबालिकालाई कुनै पनि गतिविधिमा सहभागी गराउनुपर्छ भन्ने बुझियो । यसका लागि सबै बालबालिकामा केही न केही क्षमता हुन्छ र त्यसलाई शिक्षकले चिन्न  जरुरी हुन्छ भन्ने पनि बुझियो।

उपयुक्त वातारण भनेको के हो ? बालबालिकाको अन्तरनिहीत क्षमतालाई कसरी बुझ्ने ? भन्ने कुरा पछिल्ला भागमा चर्चा गर्दै जानेछु । अब अर्को पाटोमा जाऔँ ।
तेत्सुको कुरोयानागीको ‘तोत्तो चान’ नामक पुस्तकले पढ्नै मन नगर्ने र विद्यालयले निकालिदिएकी एक बालिकालाई नयाँ स्कुलका हेड सरले बनाएको विद्यालयमा कसरी सिक्न प्रेरित गरिन्छ भनेर देखाइएको छ। जोन हल्टको ‘असफल स्कुल’ मा कसरी विद्यालयले बालबालिकाको सिर्जनशीलतालाई मारिरहेका छन् भनेर देखाइएको छ ।

गिजुभाईको “दिवा स्वप्ना“ मा कक्षा ४ मा पाइलटिङ्ग शिक्षणका लागि एउटा विद्यालयमा पुगेका लेखक गिजुभाई आफैंले एक वर्षभित्र कसरी विद्यार्थीको सिकाईमा कायापलट गर्न सक्छन भनेर देखाइएको छ । रानी मुखर्जी अभिनित ‘हिच्की’ मा पढाउन अयोग्य भनिएकी एक शिक्षकले कसरी विद्यालयकै सबै भन्दा कमजोर र खराब भनिएका विद्यार्थीलाई अन्य कक्षाका विद्यार्थीभन्दा अब्बल बनाउछिन भनेर देखाइएको छ । हेलेन केलरको जीवनीमा आधारित चलचित्र ‘द मिराकल’ मा हेलेनकी शिक्षकले कसरी कान नसुन्ने, बोल्न नसक्ने र आँखा पनि नदेख्ने हेलेनलाई स्नातक तहसम्म पढ्न सक्ने बनाइन भन्ने वास्तविक कथा देखाइएको छ । पहिलो पाटोमा हामीले छलफल गरेका सबै सिद्धान्तलाई दोस्रो पाटोमा उल्लेख गरिएका पुस्तक तथा चलचित्रमा देखाइएको छ । यी पुस्तक र चलचित्र काल्पनिक हुन् । तर, यहाँ सिकाई कसरी हुन्छ, बालबालिकाले कसरी सिक्न सक्ने रहेछन् भन्ने कुरा वास्ताविक र सटिक रुपमा बुझाइएको छ । सिकाइका नवीनतम सिद्धान्तको प्रयोगात्मक पाटोलाई देखाइएको छ ।

यी विषयहरुले बालबालिकाको रुचि, उनीहरुको चाहना, क्षमता, इच्छा र सिक्नसक्ने शैली र विधिका सन्दर्भमा स्पष्ट ज्ञान दिन्छ । जसबाट जो कसैले बालबालिकाको मन, भावना र रुचि बुझेर उनीहरुको आवश्यकता अनुरुप सिकाइमा सहजिकरण गर्न सकिन्छ ।
लेखक वृहत राष्ट्रिय शिक्षा अभियानका संयोजक हुन्।
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्