काँग्रेस बैठक आजबाट पुनः सुरु, के छन् एजेण्डा ?

Congress_Sansad_Dal
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसको स्थगित केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुचारू हुने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्ने छ। संसद् विघटनका सन्दर्भमा जारी काँग्रेस केन्द्रीय समितिको बैठक आजबाट फेरि सुरु हुन लागेको हो।

पुस ७ गते बोलाइएको बैठक ४ दिन बसेर स्थगित भएको थियो। देशभरका १६५ वटै संसदीय निर्वाचन क्षेत्रमा एकै दिन प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शनको तयारीका लागि केन्द्रीय समिति बैठक स्थगित गरेको थियो। बैठकले आज आइतबारदेखि निरन्तरता पाउने भएको छ।

बैठकले प्रतिनिधिसभा विघटनको सन्दर्भमा पार्टीको धारणा तय गर्नेछ। बैठकमा हालसम्म १५ केन्द्रीय सदस्यले धारणा राखिसकेका छन्। नेताहरुले बोल्ने क्रम आज पनि जारी रहनेछ। काँग्रेसमा संसद विघटनविरुद्ध थप संघर्षका कार्यक्रम तय वा सर्वोच्च अदालतको निर्णय पर्खिने भन्नेमा मतभेद छ।

सभापति शेरबहादुर देउवा गएको १३ गतेको सांकेतिक विरोधपछि संसद् विघटनविरुद्ध सडक संघर्षमा जान नहुने पक्षमा देखिन्छन्। तर, वरिष्ठ नेता पौडेल पक्षका अधिकांश नेताले प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दा बनाएर सडक संघर्षमा जानुपर्नेममा जोड दिएको पाइन्छ।

आजका बैठकमा पनि पौडेलले थप संघर्षका कार्यक्रम ल्याउन जोड दिने बुझिएको छ। काँग्रेस बैठक संसद विघटनसँगै पार्टीको १४ औं महाधिवेशनमाथि केन्द्रित छ। महाधिवेशन (फागुन ७-१०) घोषित मितिमा नहुने करिब पक्का भएपछि अर्को मिति तय गर्ने विषयमा काँग्रेसमा छलफल भइरहेको छ। तर संसद विघटनबारे अदालतको फैसलालाई मध्यनजर गरी महाधिवेशन कसरी र कहिले गर्न सकिन्छ भन्नेमा टुंगो हुन सकेको छ।

पौडेल पक्षले विशेष महाधिवेशनको विषयलाई उठाएको छ। क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम टुंगोमा पुग्न नसकेकाले वर्तमान परिस्थितिलाई हेरी विशेष महाधिवेशनमा जानुपर्ने उनीहरुको तर्क छ। सभापति देउवाको नियमित चार वर्षे कार्यकाल गत वर्ष फागुनमा सकिएको थियो। उनले पार्टी विधानमा टेकेर एक वर्ष कार्यकाल थपेका थिए।

उक्त समयअवधि अब फागुन १९ गते सकिँदैछ। फेरि कार्यकाल थप गर्ने हो भने संविधानको साहरा लिनुपर्ने हुन्छ। संविधानमा छ महिना म्याद थप गर्न सकिने उल्लेख छ। देउवा पक्ष संविधानले दिएको व्यवस्था पनि प्रयोग गर्ने पक्षमा देखिन्छ।