नेकपा स्थायी समितिको बैठक आज, के छन् एजेण्डा ?

Prachanda_Nepal
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाको (प्रचण्ड-माधव पक्ष) स्थायी समिति बैठक आज बस्ने भएको छ। स्थायी समिति सदस्य भीम रावलका अनुसार बैठक दिउँसो १ बजे पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्न लागेको हो।

अर्का स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणमा गर्न लागिएको आन्दोलनबारे छलफल गरिने जानकारी दिए। प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको केन्द्रीय संघर्ष समितिले शनिबार दोश्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको थियो।

समितिले पुस २० देखि माघ २३ गतेसम्म विभिन्न किसिमका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्रीको संसद् विघटन सम्बन्धी कदमको विरोधका लागि दोस्रो चरणका कार्यक्रम सार्वजनिक गरेको हो।

यी हुन् आन्दोलनका कार्यक्रम
– २०७७ पुस २० गतेसम्म गपालिका स्तरमा र २५ गतेसम्म वडास्तरमा पार्टी भेला, संघर्ष सम्बन्धी अभिमुखिकरण कार्यक्रम।

– २०७७ पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडास्तरमा संघर्ष समिति गठन।

– २०७७ पुस २१ गते संघीय राजधानी र विभिन्‍न सहरी केन्द्रमा राजनीतिक पार्टीहरूसँग अन्तरक्रिया कार्यक्रम।

– २०७७ पुस २३ गते नागरिक समाजसँग व्यापक अन्तरक्रिया कार्यक्रम।

– २०७७ पुस २४ गते सबै जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र। विरोधपत्रको साथमा संविधानको पुस्तक दिने र राष्ट्रको नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने।

– २०७७ पुस २६ गते सडक संविधान वाचन-व्याख्या कार्यक्रम।

– २०७७ पुस २७ गते (सुदूरपश्‍चिम, लुम्बिनी र प्रदेश १), २८ गते (प्रदेश २, गण्डकी र कर्णालीमा) र पुस २९ गते बागमतीमा बृहद कार्यकर्ता भेला तथा संघर्ष अभिमुखिकरण कार्यक्रम।

– २०७७ पुस २८ गते देशव्यापी घरघरमा पर्चा वितरण र गाउँगाउँ, टोलटोलमा कालोझण्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदम विरुध्द सबै वडामा व्यानर राख्‍ने कार्यक्रम।

– २०७७ पुस २९ गते निर्वाचन क्षेत्र स्तरीय कार्यकर्ता भेला।

– २०७७ माघ २ गते गते देशव्यापी सबै वडामा विरोध प्रदर्शन र सभा।

– २०७७ माघ ५ गते सबै पालिकामा विरोध प्रदर्शन र सभा।

– २०७७ माघ १० गते राजधानी लगायत सबै शहरी केन्द्रहरुमा मोटरसाइकल र्‍याली।

– २०७७ माघ १६ गते पाँचवटा प्रदेश (प्रदेश नं. १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्‍चिम प्रदेशमा) मा विरोध प्रदर्शन र सभा। माघ १७ गते प्रदेश नं. २ मा विरोध प्रदर्शन र सभा।

– २०७७ माघ २२ गते वडा तहमा देशव्यापी मसाल जुलुस।

– २०७७ माघ २३ गते राजधानीमा विरोध प्रदर्शन र सभा।

– यस बीचमा उद्योग व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम र लेखक-कलाकार, सांस्कृतिककर्मी र बुध्दिजीवीको विशिष्ट प्रकारको कार्यक्रम आयोजना गरिने।