झापा। नेकपा नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवसरवादी र दक्षिणपन्थी भएको संज्ञा दिएका छन्। बिर्तामोडमा आयोजित विरोधसभामा भट्टराईले प्रधानमन्त्री ओलीको राजनीतिक जीवन खतरामा परेकोसमेत बताए।
उनले ओलीले आफ्नो राजनीतिक जीवन, पार्टी र मुलुकलाई ठूलो दुर्घटनामा पारेको टिप्पणी गरे। ‘हाम्रो संघर्ष ओलीको अन्त्यको लागि होइन। उहाँ (ओली) को राजनीतिक जीवन रक्षाको लागि हो’ उनले भने, ‘कम्युनिस्ट पार्टीको कार्यकर्ता तथा पार्टी र मुलुक निर्माणका लागि लामो समय सँगै हिँडेकाले पनि उहाँको जीवन रक्षा गर्नुपर्ने हाम्रो जिम्मेवारी हो।’
नेता भट्टराईले क्याप्टेन (केपी ओली)ले गलत दिशामा जहाज उडाएकोले पार्टी र मुलुक दुर्घटना तर्फ मोडिएको बताए। ‘तर, हामीसँग अर्का क्याप्टेन (प्रचण्ड) पनि छन्। त्यसैले जहाज दुर्घटनामा पर्दैनन्,’ उनले भने, ‘अब जहाजलाई गन्तव्यमा पुर्याउन केही समय लाग्ला। तर, हामी सुरक्षित अवतरण हुन्छौँ।’
उनले अघि भने, ‘एक जना क्याप्टेनले विमान दुर्घटना गराए पनि अर्का क्याप्टेनलाई साथ दिनु तपाईँ/हाम्रो दायित्व हो। गलत गर्ने पाइलटलाई कक्पिटबाट निकालिदिएका छौँ।’ झापा अवसरवाद र दक्षिणपन्थीको जिल्ला नभई क्रान्तिकारीको जिल्ला भएको उल्लेख गर्दै उनले ओलीले आफ्नो अधिनायकवादी चरित्र उदांगो पारेको बताए। प्रतिनिधि सभा प्रधानमन्त्री ओलीले खाइदिएको र जनताका प्रतिनिधिको थलो खाने अधिकार उनलाई नभएको भट्टराईको भनाइ थियो।
उनले भने, ‘तर फेरि पनि पार्टी एकताबद्ध हुनुपर्छ भनेर हामी भन्न चाहन्छौँ।’ उनले पार्टीका कार्यकर्तालाई संयमित हुन पनि आग्रह गरे। ओलीलाई पार्टीभित्र गरिएको अनुनयबिनय भैँसीका अघि बिनायो बजाएको जस्तो मात्रै भएको नेता भट्टराईले बताए। प्रतिनिधिसभामा ओलीलाई कहिल्यै धोका नदिएको र नभएको बताएका उनले गलत कुरा नगर्न ओलीलाई सचेत गराए।
देशलाई गम्भीर मुठभेडतर्फ नधकेल्न प्रधानमन्त्रीलाई आग्रह गरेका भट्टराईले जे मनलाग्यो त्यही नगर्न आग्रह गरे। संविधान सर्वोच्चता र कानुनी राज्यको ओलीले धज्जी उडाएको बताउँदै ओलीले अध्यादेशमार्फत पार्टी फुटाउने र एमाले ब्युँताउन खोजेको भट्टराईले बताए। नेता भट्टराईले ओलीलाई म भइन भने अरूलाई पनि सक्छु भन्ने भष्मासुर शैली त्याग्न आग्रह गरे।



लोकपाटी न्यूज

