आईओसीले बडायाे नेपाल पठाउने पेट्रोलिय पदार्थको मूल्य

लोकपाटी न्यूज

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य पुनः बढेको छ । यससँगै अंग्रेजी नयाँ वर्षको पहिलो दिनबाटै लागु हुनेगरी इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपालका लागि पेट्रोल र डिजलमा नयाँ मूल्य कायम गरेको पाइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा एक महिनामा चारपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको हो ।

आईओसीले नेपाल आयल निगम (एनओसी) ले खरिद गर्ने पेट्रोलियमको रक्सौल विन्दुको मूल्य प्रतिलिटर २ रुपैयाँ ३८ पैसाले बढाएको छ । यस्तै, डिजल पनि प्रतिलिटर २.०४ रुपैयाँले बढेर आएको छ ।

अन्तर्राष्ट्रिय मूल्यमा भएको परिवर्तनसँगै आईओसीले गरेको समायोजनपछि नेपालमा भने पेट्रोल र डिजेलको मूल्य बढ्नेरनबढ्ने पक्का भइसकेको छैन । भारतबाट आधिकारीक रुपमा कुनै पत्र आइनसकेकाले नेपाली बजारमा मूल्य वृद्धिबारे छलफल नभएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए ।

‘उताबाट जानकारी आएपछि निगमको व्यवस्थापनले यसबारे निष्कर्ष निकाल्नेछ,’ उपाध्यायले भने । यसो भन्दैगर्दा उनले नेपालमा पनि मूल्य समायोजन हुन सक्नेतर्फ संकेत गरे । भन्छन्, ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य परिवर्तन हुँदा यसको असर नेपाली बजारमा पनि पर्छ । उता पेट्रोलियम पर्दाथको मूल्य घट्दा र बढ्दा हामीले पनि त्यहीअनुसार मूल्य कायम गर्ने हो । तर अहिले नै मूल्‍य के हुन्छ भनेर भन्न सक्ने अवस्था छैन ।’

तर एन‌ओसीलाई नै मूल्य बढेर आउँदा यहाँ पनि मूल्य बढाउनुपर्ने स्थिति आउने उनको भनाइ छ ।

लकडाउन र यातायात पूर्ण रूपमा संचालन नहुँदा घटेको पेट्रोलियम पदार्थको खपत यतिबेला बढेको पनि उपाध्यायले बताए । सवारीमा जोरबिजोर प्रणाली हटेपछि पेट्रोलियम पदार्थको खपतले अझ गति लिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्