काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुटेको दाबी गरेका छन्। प्रवासी नेपाली समुदायका अगुवासँग शुक्रबार भर्चुअलमा प्रधानमन्त्री ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाललगायतका नेतालाई बैठकमा आएर सहमति खोज्न आह्वान पनि गरे।
नेकपाले अलग अलग समूहमा कार्यक्रम गरिरहेको अवस्थामा अध्यक्ष ओलीले पार्टी फुट्न नदिन आफू हरपल लागिरहेकाले बैठकबाटै निकास खोजिनुपर्ने बताए। प्रधानमन्त्री ओलीले आम कार्यकर्ताको भावनाअनुसार पार्टीलाई एकजुट राख्नुपर्ने आवश्यकता औंल्याए। ओलीले विभाजन गर्ने मनसायले ‘हामी यहाँ छौं’ लेखेर छात्तीमा टाँसेर सडकमा नबस्नसमेत प्रचण्डलगायतका नेतालाई आग्रह गरे।
पार्टी यथार्थमा विभाजन नभएको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भने, ‘केन्द्रीय समितिको बैठकमा बोलाए पनि उहाँहरू आउनुभएन। बैठकमा नआउने तर अन्यत्र बसेर अध्यक्ष हटायौं भनेर जग हसाउने काम गर्नुभयो, यो अनुचित कार्य हो।’ ओलीले त्यस प्रकारका गलत कार्य नगर्न आग्रह गर्दै बैठकमा आएर सहमति खोज्दै पार्टीलाई विभाजन हुनबाट रोक्नुपर्ने बताए।
‘बैठकमा बसौं, छलफल गरौं, निर्णय गरौं भनेकै छु। एक-दुईवटा बैठकमा नबस्दैमा अबका बैठकमा आउन नहुने भन्ने होइन त्यसैले बैठकमा आउनुस्,’ ओलीले भने। उनले आफ्नै पार्टीका नेताले अस्थिरताको बीज रोपेर भयावह अवस्था सिर्जना गर्न लागेपछि ताजा जनादेशमा जाने निर्णय गर्न आफू बाध्य भएको बताए। संसदीय प्रणालीमा संसद् विघटन प्रधानमन्त्रीको अधिकार भएकोसमेत उनले बताए।



लोकपाटी न्यूज

