राप्रपाको शक्ति प्रदर्शन- सडकबाटै राजसंस्था पुनर्स्थापना गर्ने चेतावनी

Raprapa
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनाको माग गर्दै शुक्रबार राजधानीमा जनप्रदर्शन गरेको छ । भृकुटीमण्डपमा आयोजित जनसभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष कमल थापाले सहमतिका आधारमा सम्भव नभए सडकबाट हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने चेतावनी दिएका छन् ।

‘प्रतिनिधिसभा विघटनले संवैधानिक जटिलता सिर्जना गरेको छ । अहिले कुनै व्यक्ति, दल वा सरकार असफल भएको होइन, १२बुँदे समझदारीपछिको मार्गचित्र नै असफल भएको हो,’ अध्यक्ष थापाले भने, ‘उहाँहरू दोषी हुनुहुन्छ, तर अहिले देशले भोग्नु परिरहेको संकट, विकृति र विसंगतिको मुख्य कारण १४ वर्षअघि सुरु गरिएको बाटो र विचार नै गलत छ । बाटो गलत भएपछि, विचार गलत भएपछि ड्राइभर जतिसुकै राम्रो भए पनि गन्तव्यमा पुग्न सकिँदैन ।’

थापाले देशको वर्तमान संकटको मुक्तिका लागि नयाँ ढंगबाट अघि बढ्नुपर्नेमा जोड दिएका छन् । थापाले राजसंस्थादेखि विप्लव नेकपा अट्ने राजनीतिक व्यवस्था सम्भव भएकोसमेत जिकिर गरे ।

‘गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको १४ वर्ष अभ्यासको अनुभवबाट पाठ सिकेर यस्तो राजनीतिक प्रणाली निर्माण गरौँ जहाँ राजादेखि विप्लव नेकपा, कांग्रेसदेखि मधेसवादी अट्न सकून्,’ थापाले भने, ‘यो सम्भव छ । त्यसकारण कि सहमतिबाट हिन्दुराष्ट्र र राजसंस्था कायम गरौँ, होइन भने सडकले स्थापित गर्छ ।’

अध्यक्ष थापाले लोकतन्त्रको आडमा लुटतन्त्र स्थापित भएको र यसलाई परिवर्तन भनिएको भन्दै कटाक्ष पनि गरे । ‘धर्र्मनिरपेक्षताको आडमा संगठित र योजनाबद्ध रूपमा लोभलालच र प्रलोभन देखाएर हाम्रो सनातन धर्ममाथि आक्रमण गर्ने काम भइरहेको छ । यो १०÷१२ वर्षको बीचमा दशौँ लाखलाई धर्म परिवर्तन गराइएको छ,’ थापाले भने, ‘निसानामा सबैभन्दा बढी आदिवासी जनजाति र दलित समुदाय परेका छन् । सदिऔँदेखि कायम रहँदै आएको धार्मिक–सांस्कृतिक पहिचान समाप्त गर्न खोजिएको छ । यही हो परिवर्तन रु’

थापाले राजसंस्था पाखा लगाइएपछि देश अभिभावकविहीन भएको तर्क गर्दै अहिले विदेशीहरूको चलखेल तीव्र रूपमा बढेकोसमेत आरोप लगाए । ‘केही दिनअघि नेकपाको झगडा मिलाउन उत्तरबाट हवाईजहाज चार्टर्ड गरेर केही व्यक्ति आए । कहिले दक्षिण र कहिले उत्तरबाट नेपालको स्वाभिमान, सार्वभौमिकता र नेपाली नेताको निर्णयकत्वमा प्रहार गर्ने काम भएको छ’ थापाले भने, ‘यसको वातावरण प्रमुख भनिने दल र नेताहरूले बनाइरहेका छन् ।’

थापाले लोकतन्त्रका लागि अब कहिल्यै लडाइँ लड्नुपर्दैन भनिए पनि अहिले लोकतान्त्रिक गणतन्त्रका नाममा सर्वसत्तावाद कायम गर्न खोजिएको आरोप लगाए । ‘प्रमुख दल मिलेर संवैधानिक अंग, राज्यका संयन्त्र कब्जा गर्ने र देशमा केही सीमित राजनीतिक दलका नेताहरूको सर्वसत्तावादी शासन कायम गर्ने प्रयास भइरहेको छ । यही हो नेपाली जनताले खोजेको परिवर्तन रु’ थापाले प्रश्न गरे ।

थापाले निरंकुश राजतन्त्र सम्भव नभएको भन्दै गणतन्त्रवादी र परिवर्तनकारीहरूलाई चित्त बुझ्ने राजसंस्था स्थापना गर्नुपर्नेमा जोड दिए । उनले यसलाई मध्यमार्गी, अग्रगामी विचार भनेका छन् । थापाको मत छ, ‘राष्ट्रिय एकता र समृद्धिको ग्यारेन्टी यहीँबाट हुन्छ । राजसंस्था कायम गर्दा विचलित हुनुपर्दैन । राजतन्त्रवादी शक्ति र लोकतान्त्रिक शक्तिको एकताले नै प्रजातन्त्र बलियो हुन्छ ।’ उनले अब सबै नेपालीको साझा व्यवस्था र प्रणाली कायम गर्नुपर्नेमा जोड दिएका छन् । यसका लागि राप्रपा सडकमा ओर्लिएकोसमेत थापाले टिप्पणी गरे ।

कार्यक्रमलाई अर्का अध्यक्ष पशुपतिशमशेर राणा र डा। प्रकाशचन्द्र लोहनी, राप्रपा नेता बुद्धिमान तामाङ, दीपक बोहोरा, रविन्द्रप्रताप शाहलगायतले सम्बोधन गरेका थिए । राप्रपाले राजसंस्थालगायत सबै अट्ने गोलमेच सम्मेलन, कोरोना महामारीको सबल व्यवस्थापन, भ्रष्टाचार नियन्त्रण, युवालाई रोजगारीलगायतका माग अघि सारेको छ । नयाँ पत्रिकामा खबर छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्