काठमाडौं। नेकपाका उपाध्यक्ष वामदेव गौतमले अहिले आफ्नो तीन नम्बर कित्ता भएको बताएका छन्। उनले आफू दुबैतर्फ नलागेकाले तीन नम्बर कित्ता भएको बताएका हुन्।
शुक्रबार राष्ट्रिय सभा बैठकमा सहभागी भएपछि बाहिरिने क्रममा उनले सञ्चारकर्मीसँग बोल्दै नेकपा एकता अभियानमा आफू लागिरहेको र त्यसका लागि संगठित रुपमै सक्रिय हुने बताए। सो क्रममा नेता गौतमले प्रधानमन्त्री ओलीले आफूतर्फ तान्न फकाइरहेको खुलासासमेत गरे।
उनले भने, ‘प्रधानमन्त्रीले दिनदिनै बोलाइ रहुनु भएको छ। तर, त्यहाँ केही काम छैन। त्यसैले म त्यहाँ जान्न।’ आजै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामदेवसँग भेटेर आफ्नो पक्षमा लाग्न आग्रह गरेका थिए।
वामदेवले प्रचण्डसँगको भेटबारे भने, ‘हामी तर्फ आउनुहोस् भन्नु भयो, तर मैले आउन सक्दिन भनेँ।’ त्यसपछि प्रण्चण्डले ‘पार्टी एकता भन्नु हुन्छ, त्यो गर्नुहोस् न त’ भनेको वामदेवले बताए। उनले भने, ‘त्यसपछि मैले नेकपा एकताका लागि आफू सक्रिय हुने बताएँ।’
नेकपा विभाजित हुँदा नेकपा उपाध्यक्ष वामदेव गौतम हालसम्म कुनै कित्तामा उभिएका छैनन्।



लोकपाटी न्यूज

