काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएको आधिकारिक जानकारी निर्वाचन आयोगलाई दिएको छ। नेकपाको प्रचण्ड-नेपाल पक्षले माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाएको पत्र बिहीबार निर्वाचन आयोगमा दर्ता गरेको जानकारी दिए।
नेकपा स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाएको पत्र बिहीबार निर्वाचन आयोगमा दर्ता गरेको जानकारी दिए। उनले भने, ‘राजनीतिक दल सम्बन्धी ऐनको दफा १८ मा विधान विपरीत काम गर्ने पदाधिकारीलाई कारवाही गर्न सकिने प्रावधान छ, त्यसैअनुसार ओलीजीलाई कारवाही गरिएको जानकारी आयोगलाई दिएका हौं।’
७ पुसमा बबरमहलमा बसेको नेकपा प्रचण्ड-नेपाल पक्षको केन्द्रीय समिति बैठकले ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको थियो। ४४१ मध्ये ३१५ जना केन्द्रीय सदस्यको उपस्थितिमा बसेको बैठकले ओलीलाई कारवाही गरेको जानकारी आयोगलाई दिएको पोखरेलको भनाइ छ। ओली पक्षले भने बबरमहल बैठकलाई गुटको भेलाको भएको बताउने गरेको छ।
निर्वाचन आयोगमा दर्ता भएका ४४१ मध्ये मृतक, संवैधानिक पद र राजदूत बनेका बाहेकको अद्यावधिक विवरण बुझाएको पोखरेल बताउँछन्। प्रचण्ड-नेपाल पक्षले पार्टीको वैधानिकतासम्बन्धी आवश्यक छलफल गर्न पोखरेल, राजेन्द्र पाण्डे, मुक्ति प्रधान, कृष्णभक्त पोखरेल, टीकाराम भट्टराई, गोविन्द बन्दी र खिमलाल देवकोटालाई जिम्मेवारी दिएको पत्र पनि निर्वाचन आयोगमा पुगेको छ।



लोकपाटी न्यूज

