काठमाडौं। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले संसद् विघटनलाई अग्रगामी कदम भन्दै यो नयाँ लडाइँमा आफूहरु विजयी हुने बताएका छन्। ललितपुरमा आयोजित कार्यकर्ता भेलामा थापाले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री केपी ओली समूह अग्रगमनका साथ अगाडि बढेको दाबी पनि गरे।
‘संसद विघटन संवैधानिक हो कि असंवैधानि ? प्रतिगामी कदम कि अग्रगामी भन्ने बहस छ। हाम्रो नजरमा यो अग्रगामी कदम हो,’ थापाले भने, ‘ठूलो राजनीतिक कदम हो। यो फेरि कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने कदम हो।’ संसद विघटनपछि नेकपा विभाजन हुँदा प्रधानमन्त्री ओली समूहमा पुगेका नेता बादलले प्रतिगमन र अग्रगमनको लडाइँमा आफूहरु विजयी हुने बताए।
‘नयाँ राजनीतिक परिस्थितिमा अग्रगमन र प्रतिगमनको अभियान देशव्यापी रुपमा सुरु भएको छ’, नेता थापाले भने, ‘हामीले विश्वास गर्नुपर्छ। यो नयाँ लडाइँमा हामी विजयी हुनेछौँ र हामीलाई राष्ट्रले दिएको जिम्मेवारी र जनताले दिएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्नेछौँ।’ नेकपा विभाजनपछि देशमा आइपरेको चुनौती सामना गर्न र पार्टी निर्णयको पक्षमा दृढतापूर्वक उभिन उनले सबैलाई आह्वान गरेका छन्।
थापाले अब मध्यावधि निर्वाचनको मोर्चामा हाम फल्न सबैलाई आग्रह गरे। ‘चुनौती सामना गर्न तपाईं हामी यहाँ एकठिक्का भएका छौँ। एउटा संकल्प र प्रतिवद्धता व्यक्त गरेका छौँ’, उनले भने, ‘पार्टीको निर्णयको पक्षमा दृढतापूर्वक उभियौँ। मध्यावधि निर्वाचनको मोर्चामा हामफालौँ र त्यहाँ हामी सफल बनौँ।’
नेता थापाले आफूहरु फुट र गुटको पक्षमा नभएर स्थायित्व र समृद्धिको पक्षमा रहेको बताए। अहिले राष्ट्रको पक्षमा उभिने कि आत्मसमर्पणको पक्षमा उभिने भन्ने निर्णय गर्ने बेला भएकोसमेत बताएका छन्।
‘हामी फुट र गुटको पक्षमा होइन, हामी पार्टीको पक्षमा उभिएका छौँ। हामीले गुटको प्रतिवाद गरेका छौँ। हामी स्थायित्वको पक्ष र अस्थिरताको प्रतिवादको निमित्त लामबद्ध भएका छौँ। हामी समृद्धिको पक्षमा उभिएका छौँ’, थापाले भने, ‘हामी राष्ट्रियताको पक्षमा उभिने कि आत्मसमर्पणको पक्षमा उभिने भन्ने आफ्नो स्थिति सिर्जना गर्न भेला भएका छौँ।’



लोकपाटी न्यूज

