काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा केही नेताहरु दक्षिणपन्थीको इशारामा पार्टी फुटाएर सरकार बनाउने खेलमा लागेको आरोप लगाएका छन्। शुक्रबार प्रवासी नेपाली एकतामञ्चको जुम भेलामा प्रधानमन्त्री ओली भने, ‘पार्टी फुटेको होइन केही साथीहरु अलग हुनुभएको छ। आफै अलग्गिएर जानुभएको छ। निर्वाचन घोषणा भएपछि पार्टी फुटाउने ? पार्टी फुटाएर दक्षिणपन्थीसँग मिलेर सरकार बनाउन लाग्नुभएको छ। उहाँहरु समाजवाद उन्मुख बाटो भत्काउनेतर्फ लाग्नुभएको छ।’
उनले अगाडि भनेका छन्, ‘सडकमा जानु भएको छ । सत्तोसराप गरेर जनताको मन दुखाउनुभएको छ। कम्युनिस्ट आन्दोलनको हुर्मत लिने, अग्रगमनका बाटाहरु कमजोर पार्ने प्रयास बन्द गर्नुस्। प्रधानमन्त्री ओलीले प्रचण्ड-माधव पक्ष गणतन्त्र र लोकतन्त्रका विरुद्ध लागेको आरोप लगाउँदै आफै पार्टी फुट्यो भनेर हिँडेको पनि बताए। उनले आफ्नो पार्टी वैधानिकताका लागि निर्वाचन आयोग नगएको र नजाने समेत बताए।
‘हामी वैधानिकतको प्रमाणपत्रका लागि निर्वाचन आयोग गएका छैनौं। हामी वैधानिक नै छौँ भने किन दरखास्त हाल्न जान्छौँ ?’, ओलीले प्रश्न गर्दै भने, ‘हामी किन जान्छौँ ? अदालत, निर्वाचन आयोग ?’ उनले प्रचण्ड-माधव पक्ष लाइन लागेर अदालत, निर्वाचन आयोग र सडकमा गएको पनि बताए।
सर्वसम्मतिले छानिएको दलको नेता र प्रधानमन्त्रीलाई थाहा नदिएर अर्को भेला गर्नु, पार्टी अध्यक्षलाई निकाल्यौं भनेर सडकमा घोषणा गर्नुजस्ता क्रियाकलाप आफूलाई स्वीकार्य नहुने ओलीले बताए। उनले यही कारण संविधानको कार्यान्वयनका लागि ताजा जनमतमा जानुपर्ने अवस्था आएको र आफू संसद विघटन गर्न पुगेको बताए। ‘कसको जिम्मा जवानीमा उहाँहरू देशको हितविपरीत लाग्नुभयो उहाँहरूले नै जानुन्,’ ओलीले कटाक्ष गरे।
उनले पार्टीले आह्वान गरेका बैठकमा नआएर सडकबाट केपी ओलीलाई पार्टी अध्यक्षबाट हटाएँ भन्नु हास्यास्पद भएको बताए। ‘दुई बैठकमा आउनु भएन केही फरक पर्दैन। अबको बैठकमा आउनुस् फेरि छलफल गरौं। उहाँहरू किन सडकमा हामी यहाँ छौं भनेर जग हसाइरहनु भएको छ। हामीले त पार्टीबाट निकालेका छैनौं’, उनले भने।
ओलीले पार्टी विभाजन हुन नदिने बताए। ‘पार्टी विभाजन भएको छैन। केही मान्छेका जंगली महत्वाकांक्षालाई मैले बचाइराख्न सकिन। र, उहाँहरू तर्किनु मात्रै भएको हो’, ओलीले भने।



लोकपाटी न्यूज

