काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले प्रचण्ड-नेपाल पक्षमा उभिने संकेत दिएका छन्। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष गौतमबीच आज बिहान प्रचण्ड निवास खुमलटारमा छलफल भएको थियो। उक्त छलफलमा गौतमले त्यस्तो संकेत गरेको उनी निकट एक केन्द्रीय सदस्यले बताए।
दुई नेताबीचको छलफल सकारात्मक भएको बताइएको छ। यसअघि प्रचण्डसँगको भेटमा गौतमले प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गर्नु गलत भएको भन्दै आफू पार्टी एकताकै पक्षमा भएको बताएका थिए। पार्टी एकता जोगिने स्थिति नभएपछि गौतमले आफ्नो कित्ता स्पष्ट गर्न लागेका हुन्।
सुरुदेखि नै गौतमले संसद् विघटनका विषयमा ओलीको निरन्तर आलोचना गर्दै आएका छन्। राजनीतिक र वैचारिक रूपमा ओलीसँग असन्तुष्ट भएकाले गौतम प्रचण्ड-नेपालतिर जान सक्ने देखिएको हो। ओलीले पटक-पटक सहमति गरे पनि कार्यान्वयन गर्न आलटाल गर्नै भएकाले गौतम प्रचण्ड-नेपाल कित्तामा उभिन सक्ने ती केन्द्रीय सदस्यले बताए।
गौतमनिकट १४ केन्द्रीय सदस्य भए पनि उनीसँग भूपेन्द्रबहादुर थापा र हरिप्रसाद पराजुली दुई मात्रै छन्। गौतम कतै नखुलेपछि थापा र पराजुली दुवै पक्षको बैठकमा अनुपस्थित भएका छन्। गौतमनिकट अधिकांश केन्द्रीय सदस्य र सांसद प्रचण्ड-नेपालतिरै भएकाले उनलाई थप दबाब बढेको हो।



लोकपाटी न्यूज

