प्रदेश २ का नेकपा संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव

narayan_mandal_pradesh
लोकपाटी न्यूज

जनकपुरधाम। नेकपा प्रदेश-२ का संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। प्रदेश-२ मा प्रमुख प्रतिपक्षी दल नेकपाका संसदीय दलको नेता सत्य नारायण मण्डलविरुद्ध प्रचण्ड-नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गराएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन पश्चात दुई खेमामा विभाजित नेकपा पार्टी भित्र प्रदेश २ मा पनि विवाद चुलिएको छ। शुक्रबार एक पत्रकार सम्मेलन आयोजना गरी प्रचण्ड-नेपाल पक्षका प्रदेश सभा सदस्य शत्रुध्‍न महतोले पार्टी विभाजनको प्रक्रियामा गइसकेपछि बहुमत हामीसँग रहेकोले वर्तमान संसदीय दलका नेतालाई हटाउन माँग सहित दुई दिन अघि नै अविश्वासको प्रस्ताव दर्ता गराइएको जानकारी दिए।

प्रचण्ड-नेपाल पक्षले संसदीय दलको नेता मण्डललाई हटाउनका लागि प्रदेशका उपनेता रामकुमार यादव समक्ष अविश्वासको प्रस्ताव दर्ता गराई सकिएको महतोले बताए। संसदीय दलको नेतामाथि अविश्वास प्रस्ताव लगाउनका लागि एक चौथाई प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित दलको उपनेतालाई बुझाउनुपर्ने विधान अनुरुप उपनेतालाई २ दिन अगाडी नै अविश्वास प्रस्ताव दर्ता गराइएको उनले जानकारी दिए।

प्रदेशमा नेकपाको ३२ प्रदेशसभा सदस्यहरु रहेकोमा आफ्नो समूहका १७ जनाको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गराइएको सांसद महतोले बताए। आफ्नो पक्षमा २० जना प्रदेश सभा सदस्य रहे पनि ३ जना अनुपस्थिति रहेको १७ जनाको हस्ताक्षर मात्रै गरिएको छ तर फोनमार्फत समर्थन जनाइसकेको बताए। पार्टी विभाजनको प्रक्रियामा गएपछि प्रदेश सभामा ९ जना सदस्य मात्रै ओली समूहमा रहेका छन् भने अन्य तीन जना अन्यौल अवस्थामा छन।

अविश्वासको प्रस्ताव दर्ता गराउनेमा गोविन्द बहादुर न्यौपाने, रुबी कर्ण, प्रमिला देवी यादव, राम कुमार यादव, प्रमोद कुमार यादव, अशोक यादव, मदनशेन प्रसाद श्रीवास्तव, जगत प्रसाद यादव, शत्रुध्‍न महतो, भरत प्रसाद साह, मन्जु कुमारी यादव, बेची लुङ्गेली, रविन्द्र बैठा, डिल्ली प्रसाद उप्रेती, हसिमा खातुन, नागेन्द्र राय यादव र सुन्दर बहादुर विश्वकर्मा रहेका छन्। प्रदेशसभा सदस्य सीता गुरुङ र फुलिया देवी सदाय सम्पर्कमै रहेको तर हस्ताक्षर उनीहरुले गर्न नसकेको महतोले बताए।

यसैबीच प्रम ओलीविरुद्धको आन्दोलनलाई शसक्त बनाउन शुक्रबार प्रदेश कमिटीको भेलाबाट प्रदेश सह इन्चार्ज विश्वनाथ साहको संयोजकत्वमा प्रचण्ड-नेपाल पक्षले एक हजार एक सदस्यीय संघर्ष समिति गठन गरेको छ। प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने गैरसंवैधानिक कदमविरुध्‍द आन्दोलनको पहिलो चरणको आन्दोलनका कार्यक्रमहरु समाप्त भई सकेकोले दोस्रो चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको सहइन्चार्ज साहले बताए। दोस्रो चरणमा पुस १८ गतेदेखि पालिका पालिका तथा वडा वडामा संघर्षका कार्यक्रमहरु अगाडी बढाइने बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्