नेपाल अर्थतन्त्र वर्गोत्थानको सफलता नजिक छः ओली

KP Sharma Oli-33
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई सन् २०२२ भित्र मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गोत्थान गर्ने बताएका छन्। अन्तर्राष्ट्रिय नयाँ वर्षको उपलक्ष्यमा भिडियो सन्देश जारी गरेर प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको विकास लक्ष्यअनुरूप नेपाल अगाडि बढेको पनि बताएका हुन्।

अहिले नेपाल मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गोत्थान गर्ने सफलतातर्फ उन्मुख रहेको पनि उनको दाबी छ। प्रधानमन्त्री ओलीले मुलुकमा नवनिर्माणको चौतर्फी अभियान चलाइएको र पूर्वाधारका क्षेत्रमा यातायात, पुल, रंगशाला र अन्य पुरातात्विक सम्पदा, स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा हामी विगतको तुलनामा निकै अघि बढ्न सफल भएको बताए।

समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्य तय गरी अघि बढिरहेको र ‘समृद्ध नेपाल, सुखी नेपाली’को यो राष्ट्रिय आकांक्षा पूरा गर्न सुस्थिर राजनीति अपरिहार्य भएको पनि बताए। उनले भने, ‘मुलुक निर्माणको प्रथमिकताबाट विमुख व्यक्तिका निजी आकांक्षाले सिर्जना गरेका अवरोधलाई छिचोल्दै राष्ट्रको साझा आकांक्षा पूरा गर्ने बाटोमा हामी अविचलित निष्ठासाथ अघि बढिरहेका छौँ।’

प्रधानमन्त्री ओलीले अगाडि भनेका छन्, ‘आगामी दिनमा हाम्रो राष्ट्रिय आकांक्षा पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र व्यवहारिकरूपमा सवलीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयन एवं सामाजिक जागरण र उत्थानका कामलाई प्रभावकारी ढंगबाट अघि बढाउँदै सुशासन र विकासको बाटोबाट अघि बढ्दैछौँ।’